काठमाडौँ: नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को केन्द्रीय सभाको पहिलो वार्षिक साधारण सभा भोलि कार्तिक ४ गते काभ्रेको बनेपामा आयोजना हुन गइरहेको छ । भोलि विहान ९ बजे नेरेसोको राष्ट्रिय प्रशिक्षण केन्द्रको सभाहलमा प्रथम वार्षिक साधारण सभाको औपचारिक शुभारम्भ हुनेछ । शुभारम्भमा रेडक्रसको अन्तर्राष्ट्रिय समिति, अन्तर्राष्ट्रिय महासङ्घ तथा विभिन्न मुलुकका राष्ट्रिय सोसाइटीका प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ ।

केन्द्रीय कार्यसमिति र केन्द्रीय सभासद्हरू, देशका सातै प्रदेशका रेडक्रस समितिबाट अनिवार्य एक महिला सहित दुई दुई जना र ७६ वटा जिल्ला शाखाबाट एक–एक जना प्रतिनिधिहरू गरी करिव एक सय ४० जना प्रतिनिधिहरूले सभामा वैधानिक तवरमा भाग लिनेछन् र उनीहरूको अधिवेशनस्थलमा आउने क्रम सुरू भैसकेको छ ।


। रुकुम–पूर्वको तदर्थ जिल्ला शाखा समितिबाट एक जना, संस्थाको अभिन्न अङ्गको रूपमा रहेको जुनियर, युवाका साथै शिक्षक नायकका प्रतिनिधिहरु गरी थप ७ जनाले पनि पर्यवेक्षकको रूपमा भाग लिनेछन्।

भोजन, आवास, आर्थिक स्रोत, सहभागी दर्ता, प्रस्ताव छानविन, बन्दोबस्ती र समन्वय, प्रचारप्रसार, कानुनी परामर्श तथा सुरक्षालगायतका आवश्यक प्रवन्धहरु मिलाइएको छ । स्थानीय काभ्रे जिल्ला शाखाले बन्दोवस्तीमा सहयोग गरेको छ ।

नेरेसोको सर्वोच्च निकायको रूपमा रहेको यस वार्षिक साधारण सभाले आ।व २०७४/७५ को वार्षिक प्रगति, आर्थिक र लेखापरीक्षण प्रतिवेदनको समीक्षा गरी आ।व। २०७६र७७ को लागि प्रस्तावित कार्यक्रम तथा अनुमानित बजेटमा मूलतः छलफल गर्नेछ । यसका अलावा संस्थाको लागि उपयुक्त कानुनको व्यवस्थालगायत समसामयिक विषयहरुका साथै संकटासन्नता न्यूनीकरण गर्न र समुदायलाई प्रभावकारी रुपमा थप सहयोग गर्ने रणनैतिक र कार्यक्रमगत विषयमा छलफल गर्नेछ ।

आ।व। २०७६र७७ को लागि रु। ३ अर्ब ६६ करोड कूल बजेट प्रस्ताव गरिएको छ । साधारण र विकासतर्फको बजेटमा क्रमशः १८.६३ र ८१.३७ प्रतिशत हिस्सा रहेको छ । गत आ.व.मा नेपाल रेडक्रसका विविध सेवा तथा विकास गतिविधिबाट २६ लाख ८२ हजार २ जना मानिसहरू लाभान्वित भएका थिए । गत वर्ष सञ्चालित गतिविधिमा केन्द्रीय कोषबाट ४ अर्ब ८ करोड ६७ लाख २१ हजार खर्च भएको थियो ।

वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा नेरेसोका अध्यक्ष सञ्जीव थापाले मानवीय कार्यक्षेत्रमा सरकारको सहयोगी भूमिका निर्वाह गर्न संस्थाको थप प्रतिवद्धता रहेको धारणा व्यक्त गरे । उनले भने ,“संस्थाका समुदाय लक्षित गतिविधि सञ्चालन सम्बन्धमा रहेका जल्दाबल्दा सवालहरूबारे विचार विमर्श गरी उपयुक्त समाधानका लागि केन्द्रीय कार्यसमितिलाई यस सभाले निर्देश गर्नेछ ।” नेरेसोका महामन्त्री देवरत्न धाख्वाले भने “विगत ५६ वर्षदेखिका संस्थाका सेवा गतिविधिहरु सञ्चालन गर्न सहयोगी, सम्पूर्ण शुभेच्छुकहरु र सञ्चार जगतको सहयोग प्रति हामी कृतज्ञ छौँ ।”


प्रकाशित मितिः कार्तिक ३, आइतवार, १७:१९