बनेपाः नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको पहिलो वार्षिक साधारणसभा बनेपामा सम्पन्न भएको छ ।

साधारण सभाले संस्थाको आ।व २०७५/७६ को वार्षिक प्रगति, आर्थिक र लेखापरीक्षण प्रतिवेदनको साथै आ.व. २०७६/७७ को लागि प्रस्तावित कार्यक्रम तथा बजेट पारित गरेको छ ।

यसका अलावा संस्थाको लागि उपयुक्त कानुनको व्यवस्थाको प्रभावकारी पहल गर्न केन्द्रीय कार्य समितिलाई निर्देशन गरेको छ ।

आगामी आ.व. को लागि ३ अर्ब ८३ करोड रुपैयाँको बजेट पारित गरिएको छ । साधारण र विकासतर्फको बजेटमा क्रमशः १८.६३ र ८१.३७ प्रतिशत हिस्सा रहेको छ । गत वर्ष सञ्चालित गतिविधिमा केन्द्रीय कोषबाट ४ अर्ब ८ करोड ६७ लाख २१ हजार खर्च भएको थियो ।


समापन कार्यक्रमलाई सम्बोधन गर्दै सोसाइटीका अध्यक्षले भने, “नेपाल रेडक्रसको यो सभाले मानवता र सेवाको पक्षमा मात्रै रेडक्रसकर्मीहरु उभिएको सन्देश दिएको छ । हाम्रो अर्को कुनै अरु पक्ष छैन र छिटै हामी महाधिवेशन र नयाँ नेतृत्व चयन प्रक्रियामा जानेछौं ।”

कार्यक्रममा सम्बोधन गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय समितिका नेपाल प्रमुख आन्द्रे पाकेले नेपालमा रेडक्रस कानुन बनाउन सके नेपाल भित्र रहेको वृहत रेडक्रसको सञ्जाललाई काम गर्न सहयोग पुग्ने कुरामा जोड दिए ।

अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख जुजा किमले युवा सहभागिता, आमसञ्चार, जेन्डर, आय आर्जन लगायतका संस्थागत तथा समुदायमा आधारित गतिविधिहरुमा नेपाल रेडक्रस सोसाइटीलाई सहयोग गरिने प्रतिवद्धता जनाइन् ।

कार्यक्रममा नेरेसोको ७ वटै प्रदेश र ७४ जिल्ला शाखाबाट प्रतिनिधिहरु र केन्द्रीय कार्यसमिति तथा मनोनित सभाषदहरुको सहभागिता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधानअनुसार प्रजातान्त्रिक विधिबाट संस्थाको केन्द्रीय तहको नेतृत्व चयन गर्न र वार्षिक कार्यक्रमहरु तय गर्न यस अघि धरानमा वैशाख २३–२५ गते बोलाइएको महाधिवेशन र वि.सं. २०७६ साउन २८ मा बोलाइएको वार्षिक साधारण सभा जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्देशनबाट स्थगित भएको थियो ।

पछि सर्वोच्च अदालतले संस्थाको पक्षमा भाद्र २४ गते गरेको फैसला आएपछि यो वार्षिक सभा बोलाइएको थियो ।

 


प्रकाशित मितिः मंगलबार, कार्तिक ५, १०:१३