काठमाडौंः कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षा अभिबृद्धिको लागि विभिन्न अस्पतालहरुलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरण अभियान नेपाल रेडक्रस सोसाइटीले आजदेखि सुरु गरेको छ ।

हस्तान्तरण गरिने सामग्रीहरुको कूल मूल्य १ करोड ५७ लाख सात ७ सय ७० रहेको छ ।

काठमाडौंको शुक्रराज ट्रपिकल अस्पताललगायत देशका सातवटै प्रदेशका प्रमुख अस्पतालहरुमा उपकरणहरु र कार्यरत स्वास्थ्यकर्मीहरुको लागि व्यक्तिगत सुरक्षा सामग्रीहरु वितरण गरिने छ ।

नेपाल रेडक्रस र कोकाकोलाको साझेदारीमा सञ्चालन गरिएको सामग्री बितरण अभियान आज बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा सुरुआत गरिएको हो ।


नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाले पहिलो चरणको सामग्रीहरु माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरे । प्राप्त मास्क, रबर बुट, स्यानिटाइजर, साबुनलगायतका व्यक्तिगत सुरक्षा सामग्री मन्त्री ढकालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई सोही कार्यक्रममा हस्तान्तरण गरे ।

दुई चरणमा हस्तान्तरण हुने सामग्रीहरुमा १५ हजार थान सर्जिकल मास्क, केएन–९५ माक्स १ हजार १ सय ५० थान, ५५० थान सुरक्षा पोशाक, सुरक्षा चस्मा ३०० वटा, बीस हजार जोडी पञ्जा, ४४० थान रबर बुट, स्यानिटाइजर २५०० बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड दुई हजार दुई सय लिटर र १५ हजार एक सय अठार थान साबुन रहेको नेपाल रेडक्रस स्वास्थ्य विभागका निर्देशक बिपुल न्यौपानेले जानकारी दिए ।

यस्तै विभिन्न प्रदेशमा ७ थान भेन्टिलेटर मेशिन पनि उपलव्ध गराइने छ ।

सामग्री वितरण समारोहमा माननीय मन्त्री ढकालले कोभिडको महामारीको चालु लडाँईमा सहयोग गर्न सामग्रीसहित उपस्थित भएकोमा नेपाल रेडक्रस र त्यसको साझेदार कोकाकोलालाई धन्यबाद दिँदै भने, ‘यो अफ्ठेरो परिस्थितिमा सबैको सहयोग चाहिन्छ र प्राप्त सबै सामग्रीहरुको एक एक हिसाब राखिने छ र उचित वितरण गरिने छ । सुरक्षा सामग्री नपुगेको स्थानमा नेपाल सरकारले तत्काल सामान पठाउने छ ।’

सामग्री लिँदै शुक्रराज अस्पताल टेकुका निर्देशक डा. राजभण्डारीले यो सामग्रीले डाक्टर, नर्सलगायत अग्रपंक्तिका स्वास्थ्यकर्मीको हौसला बढाएको बताए ।

यसका अलावा साझेदारीअन्तर्गत नेपाल रेडक्रसका रक्त सञ्चार सेवाका ४०० प्राविधिकहरु र स्वास्थ्य कर्मचारीहरु, २४७ एम्बुलेन्स चालकहरु पनि यो साझेदारीबाट लाभान्वित हुनेछन् ।

नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाले नेपाल रेडक्रस र दी कोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने र अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको संरक्षण गर्ने एउटा प्रयास भएको बताए । उनले भने, ‘रक्त सञ्चार, एम्बुलेन्स, अस्पताल आदिजस्ता अत्यावश्यक सेवाहरुको निरन्तरता सुनिश्चित गर्न अति आवश्यक सुरक्षा सामग्रीहरुको ठूलो महत्व छ ।’

उपकरणहरूसँगै प्रयोग विधिहरु सम्बन्धित प्रशिक्षणहरु साथसाथै उपलव्ध गराइने छ । यस क्रममा बन्दाबन्दीको नियमको पालना र भौतिक दूरी कायम गरिने नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

आजै अपरान्ह नेपाल रेडक्रसले नेपाल मेडिकल एशोसियसनलाई एशोसियसनको कार्यालय बागबजारमा चिकित्सकहरुको लागि सुरक्षा सामग्री वितरण गरिएको पनि उनले जानकारी दिए ।

मुलुक र नागरिकहरुलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका स्वास्थ्यकर्मी र आपत्कालीन स्वयंसेवकहरुलाई अत्यावश्यक व्यक्तिगत उपकरणहरु र विभिन्न स्वास्थ्य निकायहरुलाई आवश्यक स्वास्थ्य उपकरणहरु उपलव्ध गराउन नेपाल रेडक्रसलगायत हाम्रा साझेदारसँग सहकार्य गर्न पाउँदा हामीलाई खुशी लागेको दी कोकाकोला फाउण्डेशनका क्षेत्रीय व्यवस्थापक हरि शर्मा न्यौपानेले बताए ।

यस्तै सिंगापुर रेडक्रसको तर्फबाट प्राप्त छुट्टै ३५०० थान एन नाइन्टीफाइभ माक्स पनि आजै नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।


प्रकाशित मितिः मंगलबार, असार १६, २०७७, १९:३६