आज नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ४९औँ स्थापना दिवस । नेपाल बिद्यार्थी संघको २०२७ सालमा आज कै दिन जेलभित्र स्थापना भएको थियो ।

पञ्चायती शासनमा पिल्सिएका नेपालीहरू र त्यसमा पनि जागरूक विद्यार्थीहरूले प्रवासमा रहेर ‘प्रजातान्त्रिक युवा लिग’ गठन गरेर नेपाल विद्यार्थी संघको प्रारूप चित्र कोर्ने प्रयास भएको देखिन्छ । त्यो सँगै देशभित्रका पनि विभिन्न क्याम्पसहरूमा सम्मेलन तयारी समिति गठन गरी २०२७ वैशाख ६, ७ र ८ गते अखिल नेपाल विद्यार्थी सम्मेलन गर्ने मिति तय गरिएको थियो । यसैबाट नेपाल विद्यार्थी संघले औपचारिक जन्म भएको होे।

महेन्द्रको एक दलिय पंचायत विरुद्ध लड्नका लागि नेपाली कांग्रेसले विद्यार्थी वर्गलाई संगठित रुपमा अगाडी बढाउन नेपाल विद्यार्थी संघको स्थापना गरेको पाइन्छ ।


। नेविसंका संस्थापक सभापति विपिन कोईराला हुन् ।

सधै लोकतन्त्र र क्रान्तिको प्रयायवाची बन्दै आएको नेविसंघ देशमा भएका विभिन्न राजनीतिक एवं शैक्षिक परिवर्तनको नेतृत्व लिदैं २०४६ र २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रह्यो । नेपाल विद्यार्थी संघको मुल आदर्श राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता हुन् ।

नेपाल विद्यार्थी संघ नेपाली विद्यार्थीहरुको साझा संगठन हो । विश्वको जुनसुकै ठाउँमा भएपनि यदि नेपाली र विद्यार्थी हो भने नेपाल विद्यार्थी संघको सदस्य वन्न पाउछ । नेविसंघ सदस्यको वस्तुगत र वास्तविक पहिचान भनेको विद्यार्थी हो । साथै अन्य पहिचानहरु प्रजातान्त्रिक समाजवादमा विश्वास हुनुपर्ने, जुझारु, लोकतान्त्रिक चरित्र र अनुशासन हुन् ।

संठगनको चरित्र पूर्णतया लोकतान्त्रिक हो र नेपाल विद्यार्थी संघको नेतृत्व गर्ने व्यक्ति विद्यार्थीले चुनेको विद्यार्थी नै नेता हो । आजका दिनसम्म आईपुग्दा माथि उल्लेखित पङ्क्तिहरुमा आजको नेविसंघ र हिजोको नेविसंघको तुलना गर्दा धेरै भिन्नता पाइन्छ ।

देशमा राजनीतिक परिवर्तन सँग फरकपन ठिक भएतापनि बढी नकारात्मक तर्फ लाग्नु जायज हुँदैन। हिजो नेविसंघ जसरी बफादार थियो तर आज विचार र आदर्शमा केहि फरकता आएको अनुभव हुन्छ त्यसलाई सच्याउनु पर्दछ । नेविसंघले आफ्नो सिर्जनशील र उर्जाशील जीवनलाई समाज रुपान्तरणको अध्ययायमा आफुलाई परिर्वतन गर्नु आवश्यक छ । उद्देश्य प्रतिको सफल यात्रामा अगाडी वढ्न वलियो र व्यवस्थित संगठन एवम् प्रष्ट र प्रभावकारी बन्नु आवश्यक छ ।

नेविसंघ संगठनिक अराजकता र अकर्मण्यताको भुमरीबाट बाहिर निस्किनु, समय सापेक्ष सामाजीक र शैक्षिक एजेन्डा प्रति आवश्यक इच्छाशक्ति प्रकट गर्दै सिर्जनशिल र उर्जाशिल जीवन संगठनका लागि खर्च गर्नु पर्दछ ।

कांग्रेसमा नेविसंघ जुझारु र संर्घषशिल भातृ संगठन हो । यस संगठनका कार्यकर्तामा हुने चेतना र क्रन्तिकारी स्वभावका साथ पार्टीको नर्सरी समेत भएकोले अरु भातृसंगठनका तुलनामा जिम्मेवारी वोध गर्नु आवश्यक छ । लोकतन्त्रको फरक अभ्यास टिकेतन्त्रमा नेविसंघमा फस्नु हुँदैन । विद्यार्थीको अधिकारको लागि लड्ने विद्यार्थी नेता नभएर नेताको चाकरि गर्ने कुराको अन्त्य गर्नु आवश्यक छ । कलेज र शिक्षालाई व्यापारिकरणबाट रोक्नु आवश्यक छ।