काठमाडौंः नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ ।

उद्घाटन खेलमा आज उपत्यकाका दुई टोली काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् ।

आज काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको खेलसँगै प्रतियोगिताको सुरुवात हुनेछ ।

काठमाडौं र ललितपुरबीचको उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्न चाहन्छ । त्यसैले दुई भ्याली डर्बी क्लबबीचको भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ ।

मुख्य प्रशिक्षक बाल गोपाल महर्जनको नेतृत्वमा रहेको काठमाडौंको कप्तानी गोलकिपर विकेश कुथुले गर्ने छन् ।


ललितपुरको कप्तानी अन्जन विष्टले गर्ने छन् । टिमको प्रशिक्षकमा प्रदिप हुमागाई रहेका छन् ।

तर, प्रतियोगिताको खेल हेर्न दर्शकलाई रंगशाला प्रवेशको अनुमति छैन । कोरोना महामारीको कारण प्रतियोगिता बन्द रंगशालामा हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता जेठ १ सम्म सञ्चालन हुनेछ ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

पहिलो पटक आयोजना हुन लागेको एनएसएलको विजेताले नगद ३५ लाख पुरस्कार पाउने भएका छन् । यस्तै उपविजेताले नगद १५ लाख पाउनेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही १ लाख पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीले १ लाख पाउने छन् । त्यस्तै हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार पाउने छन् ।


प्रकाशित मितिः २०७८ साल वैशाख ११ गते शनिबार, १०:४६