काठमाडौं : गत जेठ ३ गते पार्टी एकीकरण घोषणा भएपनि सिंहदरबार भित्र ‘नेमप्लेट’ र ‘होर्डिङ बोर्ड’मा मात्रै परिवर्तन बाहेक व्यावहारमा एकता देखिएको छैन ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भए पनि सिंहदरबारभित्र भने त्यस्को झल्को अझै देखिन सकेको छैन। दुवै पार्टीका नेताका कार्यालय पूर्ववत आ– आफ्नै ठाउँमा रहेका छन्।

नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसद् सचिवालयले एउटै भवन उपलब्ध गराउन नसक्दा पहिलेकै ठाउँमा रहेर काम गर्नुपरेको बताए। ‘संसदीय दललाई कुन भवन दिने हो  सो निर्णय संसद् सचिवालयले गर्ने हो,’ गुरुङले भने, ‘सो निर्णय गरिदिन नसक्दा अलग अलग रहेको जस्तो देखिएको हो।


।’ उनका अनुसार अलगअलग जस्तो देखिए पनि नेकपाको काम कारबाही भने रोकिएका छैनन्।

सिंहदरबार हाताभित्र अझै पनि पूर्व एमाले र पूर्व माओवादीका नेताको छुट्टाछुट्टै कार्यालय र सम्पर्क स्थान यथावत नै रहेको देखिएको छ।

जहाँ तत्कालीन एमालेको कार्यालय रहेको थियो, त्यहाँ पूर्व माओवादी नेता पुग्दैनन् भने तत्कालीन माओवादीको कार्यालय रहेको स्थानमा पूर्व एमाले नेता पनि पुगेको देखिँदैन।

नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालीन एमालेले प्रयोग गर्दै आएको पुरानै भवनमा नै कार्यालय छ भने उपनेता सुवासचन्द्र नेम्बाङ पनि पुरानै स्थानमा कार्यालयमा नै बस्दै आएका छन्।

त्यस्तै, प्रमुख सचेतक देवप्रसाद गुरुङ संसदीय सचिवालय भवन नम्बर १ मा बस्दै आएका छन्। जहाँ यसअघि माओवादी संसदीय दलको कार्यालय रहेको थियो । तर, सचेतक शान्ता चौधरीको कार्यालय भने पुरानै एमालेको भवनमा रहेको नागरिक दैनिकमा समाचार छ ।