काठमाडौंः नेपाल संवत् ११४१ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । तर यस वर्ष कोरोना संक्रमणको महामारीका कारण अघिल्ला वर्षहरुमा जस्तो उल्लास छैन ।

राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गराएका थिए ।

“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।


। नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

यसवर्ष आइतबार र सोमबार दुई दिन प्रतिपदा तिथि परेको छ । एकथरी नेवार समुदायले आइतबार म्हः (आत्म) पूजा गरेका छन् भने कतिपय नेवार समुदायले आज सोमबार गर्दै छन् । त्यस्तै आज म्हः (आत्म) पूजा गर्नेले भोलि मंगलबार भाइटिका गर्दैछन् । यस अवसरमा मंगलबार पनि सरकारले सार्वजनिक बिदा दिएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १ सोमबार, ०७:४१