काठमाडौं: कांग्रेसको भ्रातृ संगठन नेविसंघले सुन्दरीजलमा हुने प्रशिक्षण कार्यक्रमको आयोजना भिन्दाभिन्दै राखेका छन् ।

नेविसंघका अध्यक्ष नैनसिंह महरको कार्यशैली र व्यवहारबाट असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधर नेविसंघ पदाधिकारी र सदस्यहरूले समानान्तर बैठक र कार्यक्रम चलाउन थालेका हुन् ।

केही दिनअघि समानान्तर बैठक बसेलगत्तै बुधबार सुन्दरीजलमा दुवै पक्षले भिन्दाभिन्दै कार्यक्रम आयोजना गरेका छन् । एकै स्थान र उस्तै समयमा दुवै पक्षले कार्यक्रम राखेपछि विवाद सतहमा आएको हो । अध्यक्ष महरले पार्टीभित्रको आन्तरिक कलहकै प्रभाव नेविसंघमा देखिएको स्विकारे ।


सुन्दरीजलस्थित बीपी संग्रहालयमा संस्थापन पक्षले प्रशिक्षण कार्यक्रम घोषणा गरेलगत्तै संस्थापनइतर पक्षले सोही ठाउँमा महाधिवेशनका लागि विधान एवं नियमावली सम्बन्धमा प्रशिक्षणको आयोजना आयोजना गरेका छन् ।

संस्थापनइतर पक्षको आयोजक पनि नेविसंघ केन्द्रीय कार्यसमिति नै भनिएको छ । यसको नेतृत्व महामन्त्री कुन्दन काफ्लेले गरेका छन् । पौडेल पक्षीय विद्यार्थी स्रोतका अनुसार वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहितका नेताले आफूहरूले राखेको कार्यक्रमलाई सम्बोधन गर्ने दाबी समेत गरेका छन् ।

अध्यक्ष महरले संघले राखेको कार्यक्रममा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि र वरिष्ठ नेता पौडेलसहितका शीर्ष नेता सहभागी हुने एक विद्यार्थी नेताले बताए ।