काठमाडौंः नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएका मूल्यवृद्धिको विरोधमा देशव्यापी रुपमा आन्दोलन चर्काउने निर्णय गरेको छ ।

नेविसंघले बिहीबार काठमाडौंको ल क्याम्पसमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ताहरुको भेला डाकेर ल्यवृद्धिको विरोधमा देशव्यापी रुपमा आन्दोलन चर्काउने निर्णय गरेको हो ।

उक्त भेलाले मूल्यवृद्धिको निर्णय खारेजको माग गर्दै जेठ २७ गते देशव्यापी सिठी जुलुस, जेठ १९ गते मसाल जुलुस प्रदर्शन गर्ने निर्णयगरिएको नेविसंघ अध्यक्ष नैनसिंह महरले बताए ।

उनका अनुसार, भेलाले वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य खारेज नगरिए जेठ ३१ गते देशैभरीका जिल्लाहरुमा प्रधानमन्त्री केपी शर्माओलीको पुत्ला दहन गर्नेसमेत निर्णय गरेको छ ।


नेविसंघ भित्र देखिएको असन्तुष्ट पक्ष लामो समयदेखि महाधिवेशनको माग गर्दै समानान्तर गतिविधि गर्दै आइरहेका कुरालाई पनि यो भेलाले सुदृढीकरणका लागि पहल गर्ने र सांगठनिक विधान सम्बन्धि सुझाव संकलनका लागि जेठ ३० गते संगठनका पूर्वअध्यक्षहरुसँग अन्तरक्रिया गर्ने समेत बताएको छ ।

यस्तै अगुवा कार्यकर्ता भेलाले असार ३ गते ७ वटै प्रदेशका राजधानीहरुमा विधान संशोधन सम्बन्धि सुझाव संकलन गर्नेपनि निर्णय गरेको उनले जानकारी दिए ।