बेलायती लेखक सर टम स्टोर्पाडले भनेका छन, ‘म अझै विश्वस्त छु की यदि तपाँइको उद्देश्य विश्व परिवर्तन गर्ने हो भने, छोटो समयमा विश्व परिवर्तन गर्ने एकमात्र उपयुक्त अस्त्र हो पत्रकारिता ।’ विश्वलाई नजिकबाट नियाल्न र त्यसको गर्भमा रहेको कुरा जान्न म पत्रकारितामा लागेको हुँ’ , (९१८९८–१९६७) अमेरिकाको उत्कृष्ट म्यागेजिन ‘म्यागनेट’ का सम्पादक हेनरी रोविनशन लुसीले भनेका छन् ।

पत्रकारिताको विषयमा यि विद्वानहरुले दिएका परिभाषालाई समग्रमा विचरण गर्दा राज्यका हरेक निकाय भन्दा शक्तिशालि निकाय पत्रकारिता हो । सुरुमा पत्रकारिता शब्दको प्रयोग समसामयिक घटनाको रुप, विशेष गरी अखबारका समाचारका लागि प्रयोग हुन्थ्यो ।


। २० औं शताब्दीमा आएर रेडियो र टेलिभिजनको प्रारम्भसँगै पत्रकारिता शब्दको अर्थ पनि व्यापक हुँदै गयो । त्यसपछि समसामयिक घटनासँग सम्बध रहने सबै प्रकारका मुद्रित र विद्युतीय संचार तथा अनलाइलाई समेट्दै गयो ।

अक्सफोर्ड डिक्स्नरीले कुनै विशिष्ट क्षेत्रको समाचार र सूचना समावेश हुने दैनिक छापा वा अन्य आवधिक प्रकाशनलाई पत्रकारिता भनेको छ भने न्यु वेब्सटर डिक्स्नरीले समाचार माध्यमका प्रकाशन सम्पादन लेखन र प्रसारणजस्ता व्यवसायलाई पत्रकारिता मानेको छ । तर आजको विस्तारित पत्रकारितालाई संचार माध्यमका सामान्य प्रकाशन प्रसारणको अर्थले समग्रमा समेट्न सक्दैन । आजको पत्रकारिता घटनाको सामान्य टिपोट वा समाचार संकलनको कार्यव्यापारमा मात्र सीमित भएर पुग्दैन । तसर्थ सी.जे म्युलरले भनेका छन, ‘पत्रकारिता आवश्यक तथ्यको प्राप्ति तिनको सचेत मूल्याङकन र उचित तथा उपयुक्त ढंगको प्रस्तुतीका माध्यमबाट गरिने सामयिक ज्ञानको व्यवसाय हो ।’

दिलिप प्रकाश कार्की

सन् १७८७ मा इडमण्ड वर्कले बेलयाती संसद्‍मा पत्रकारितालाई राजयको चौथो अंगको रुपमा मान्नु पर्ने धारणा राखेका थिए । जसलाई बेलायती संसद्ले स्वीकृत गरेको थियो । वर्कका अनुसार राज्यका तीनवटा अंग व्यस्थापिका, कार्यपालिका र न्यापालिका भन्दा शक्तिशालि अंगको रुपमा पत्रकारिता हो ।

राज्यका तीनवटै निकायलाई सन्तुलनमा राखेर राष्ट्र र समाजलाई सहि दिशामा डोर्‍याउन पत्रकारिताको अह्म भूमिका रहन्छ । त्यसकारण पत्रकारितालाई समाजको ऐना पनि भन्ने गरिन्छ ।

समाज वा देशमा भएगरेका गलत कृयाकलापहरुलाई निरुत्साहित गर्ने र राष्ट्रलाई सकारात्मक दिशामा लैजानु पत्रकारिताको धर्म हो । समाजको पहरेदार मानिने पत्रकारिता क्षेत्र स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता रहेको छ । सोही मान्यता अनुरुप प्रेस स्वतन्त्रताको अवधारणा अघि सारिएको हो ।

प्रेस स्वतन्त्रता भनेको छापामाध्यम, प्रशारण तथा अनलाइन माध्यममा सार्वजनिक चासोको रुपमा रहेका विषयहरुलाई कसैको अवरोध र बिना इजाजत छाप्न वा प्रशारण गर्न पाउनुपर्छ भन्ने बुझिन्छ । असल शासन, स्वस्थ र समुन्नत समाज र राष्ट्रको विकास र समृद्धिका लागि स्वस्थ र निष्पक्षरुपमा पत्रकारिताको अभ्यास गरिनुपर्दछ भन्ने आदर्शात्मक सिद्धान्तमा पत्रकारिताको जग बसेको हो । तर, पत्रकारिताका आदर्शलाई नै चुनौती दिने गरी यसको अभ्यास हुन थालेको छ । नेपालजस्तो विकासउन्मुख देशमा विश्वकै शक्तिशाली हतियार पत्रकारिताको गलत अभ्यास गरिँदा यसले दिने परिणाम निकै घातक हुने निश्चित छ । पत्रकारिताले राज्यका तीनवटै निकायले बाटो बिराउँदा सहि दिशामा ल्याउन सजग र सचेत बनाउनुपर्ने हुन्छ । तर, आफैँ गलत बाटोमा लागेर राज्यमा संक्रमणको अवस्था सिर्जना गर्नु पत्रकारिताको दुरुपयोग हो । नेपालमा केही वर्षयता यस्ता गलत अभ्यासहरु निकै भएका छन् ।

राज्यका संयन्त्रलाई सहि र सकारात्मक सुझाव दिएर समाधान दिनुपर्ने समयमा उल्टै समस्या सिर्जना गरी भ्रमको खेती गर्न नेपाली पत्रकारिता अग्रसर भएको देखिन्छ । चाहे त्यो केही महिना अघिको आइजीपी प्रकरण होस् वा महाअभियोगको प्रसंग नै किन नहोस् । आइजीपी प्रकरणमा देशका मुलप्रवाहमा रहेका कुनै पनि मिडियाले समाधानको बाटो देखाएनन् । बरु बलीरहेको आगोमा घ्यु थप्ने काम गरे त कोही सरकारले आइजीपी पदमा नियुक्त गरेका डिआइजी जय बहादुर चन्दको बचाउको कित्तामा उभिए भने कोही चन्दको विरोधसहित डिआइजी नवराज सिलवालको पक्षपोषणमा लागे ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको प्रसंगमा पनि जसरी राजनीतिक दलहरु विभाजित भएर पक्षप्रतिपक्षमा उभिए त्यसैगरी फरक कित्तामा बाँडिए नेपाली मिडियाहरु । सर्वोच्च अदालतकी तत्कालिन प्रधानन्यायाधिस शुशीला कार्कीविरद्ध ल्याइएको महाअभियोगका विषयमा पनि त्यसैगरी फरक फरक धारमा बाँडिएर सामाजिक उत्तरदायित्वलाई श्रद्धाञ्जवली दिँदै व्यक्तिगत, संस्थागत र राजनीतिक स्वार्थमा अनुरुप वकालत गर्न भ्याए । यसरी बौद्धिक व्यक्तित्व संलग्नल समग्र पत्रकारिता क्षेत्रले नै विवेकलाई बन्धकी राखेर पद र पैसाको मोहमा डुब्दै गएको देखिन्छ । यसरी सत्यतथ्य, निश्पक्षता, सन्तुलन, वस्तुपरकता, कानुनी मान्यता र समाजप्रतिको उत्तरदायित्व बिर्सने हो भने आगामी दिनमा पत्रकारिताप्रतिको विश्वसनियता गुमेर सबैभन्दा लज्जित पेसाको रुपमा पत्रकारिता स्थापित नहोला भन्न सकिन्न ।

उच्च पदमा रहेका व्यक्तिको लगानी मिडियामा हुनु, पैसावालले निहित स्वार्थका लागि मिडिया सञ्चालन गर्नु, पोलिटिक्स अर्थात राजनीति गर्ने व्यक्ति नै मिडिया मालिक बन्नु, र पद तथा प्रतिष्ठाको गलत प्रयोग गरेर मिडिया चलाउनाले नै आजको पत्रकारिता क्षेत्र पिल्सिदै गएको छ । पद, पैसा र पोलिटिक्सको पावरमा पत्रकारिता गर्नाले नै यो क्षेत्र पतनको बाटोमा लागेको हो । मिडिया मालिकहरुले पत्रकारिता नबुझ्दा नै यस्तो समस्या उत्तपन्न भएको हो ।

मिडिया र पत्रकारिता दुई फरक पाटा हुन् । पैसा हुने व्यक्ति मिडिया चलाउन सक्षम हुनसक्छ तर पैसा हुँदैमा पत्रकारिता गर्न सक्षम नहुन पनि सक्छ । मिडिया पत्रकारिता गर्ने एक साधन वा माध्यम मात्रै हो । मिडियामा लगानी गर्दैमा सिंगो पत्रकारिता जगतको मालिक भएको भ्रम पाल्नु मुर्खता सिवाय केही होइन् । तर, नेपालका मिडिया मालिकले पत्रकारिता आफ्नो पैतृक सम्पत्ति वा विवाहमा आएको दाइजो भन्दा पनि सस्तो रुपमा यसलाई दुरुपयोग गरिरहेका छन् । त्यसकारण मिडिया मालिकहरुले सम्पादकिय स्वतन्त्रता प्रदान गर्नुपर्दछ । सम्पादकीय स्वतन्त्रता कायम हुन सकेन र पूर्वाग्रही समाचार र समाचारजन्य सामाग्री प्रकाशन, प्रसारण हुने हो भने मिडिया केही सिमित वर्ग र समुदायमा खुम्चिने र एकदिन पतन हुने निश्चिमत छ ।

नेपालमा पत्रकारिताको दुरुपयोग नहोस् र कसैलाई हानी नोक्सानी हुने काम नगरोस् भनेर नियमन र नियन्त्रण गर्ने निकाय नेपाल प्रेस काउन्सिल पनि चिर निद्रामा लीन भएको छ । पत्रकारिता क्षेत्रमा देखिएका कतिपय नैतिकता र आचारसंहिताका विषयमा दैनिक प्रश्न उठ्ने गरेका छन् । तर पनि प्रेस काउन्सिलले यस विषयमा कुनै चासो देखाएको पाइदैन् । आमसञ्चार सम्बन्धी आफैँले बनाएको ऐन, नियम र आचारसंहिता उल्लघंन गर्न आफैँ अघि सर्ने प्रेस काउन्सिलले समग्र पत्रकारिताको निगरानी गर्न नसक्नु् स्वभावीक नै मान्न सकिन्छ । तर, बाह्य देशको अभ्याससँग तुलना गर्ने हो भने नेपाल प्रेस काउन्सिल वैचारिक ह्रास भएकाहरुको कमाइ खाने भाँडो बनेको छ ।

नेपालमा पछिल्लो समय विकास भएको अनलाइन पत्रकारिताले त झनै विकृती भित्र्यान सहज मार्ग प्रशस्त गरेको छ । अहिलेको अभ्यास हेर्ने हो भने पत्रकारपिच्छे तथा राजनीतिक दलका नेता कार्यकर्ता्पिच्छेम अनलाइन भएकोले पत्रकारिता क्षेत्रप्रतिको विश्वसनीयताको साख नै विलीन भएको छ । हरेक राजनीतिक दलले आफू अनुकुल अनलाइन पत्रिका खोल्नाले पत्रकारिता कम र पर्चाकारिता बढी हुन थालेको छ । सत्यतथ्यमा आधारित भन्दा पनि प्रोपोगाण्डामा आधारित भएर समाचार तथा समाचारजन्य सामाग्री प्रकाशन प्रसारण गरिन थालेको छ । अहिलेका अनलाइकारहरुलाई नेपाल प्रेस काउन्सिलले मौनरुपमा ब्रह्मथलुट गर्ने छुट दिएको छ । आचरसंहिता हात्तीको देखाउने दाँत बनेको छ ।

राजनीतिक पहुँचका आधारमा नेपाल प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी बरालको योग्यता नपुगेको भन्दै काम नगर्न र नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा बराललाई काउन्सिलको अध्यक्षतामा नियुक्ति गरिएको थियो । यसबाटै पनि प्रष्ट हुन सकिन्छ कि समग्र पत्रकारिता क्षेत्रलाई व्यवसायिक बनाउने ध्याउन्नकमा लाग्ने काउन्सिका प्रमुखकै योग्यतामाथिको प्रश्न गम्भिर र पीडादायी छ । राजनीतिक पहुँच हुँदा जे पनि गर्न सकिन्छ भन्नेध सोंचको विकासले नै पत्रकारितालाई विनाशतीर लगिरहेको छ ।

त्यस्तै पत्रकारहरु हकहितको संरक्षण गर्दै पत्रकारितालाई मर्यादित र व्यवसायिक बनाउने अवधारणा अनुरुप स्थापना भएको नेपाल पत्रकार महासंघ राजनीतिक दलहरुको कार्यकर्ता उत्पादन गरी प्रशिक्षण दिने भर्तीको केन्द्र बन्दै गइरहेको छ । पटकपटक विभिन्न विषयलाई लिएर विवादमा तानिने महासंघ यसपटक भने नराम्ररी फसेको छ । नेपाल पत्रकार महासंघका सदस्यसमेत रहेका इमेज च्यानलका पत्रकार सुरज आचार्यले समाचारका विषयमा गरेको पैसाको वार्गे्निङ्को भिडियोसहित सार्वजनिक भएपछि विवादमा तानिएको महासंघ अझै स्पष्ट जवाफ दिन सकेको छैन । घटनाको लामो समयपछि महासंघका महासचिव उजिर मगरको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनसहितको एक विज्ञप्तिस सार्वजनिक गर्दै परिस्थितिजन्य कारणहरूमा उक्त कुराकानी भएको निष्कर्ष निकाल्यो । जसमा आचार्यलाई चोखोपार्ने खेल भयो ।

उक्त विज्ञप्ति निकालेको दुई दिनमै महासंघले वेवसाइटबाट उक्त लिंक हटायो तर फेरी लिंक हटाएका खबरहरु प्रकाशित भएपछि महासंघले नयाँ लिंकमा उक्त विज्ञप्ति अपलोड गर्यो । सानो छँदा केटाकेटी भाँडाकुटी खेलेझैं महासंघले गम्भिर विषयलाई पनि वेवास्ता गरिरहेको छ । यसरी महासंघ नै गम्भिर विषयमा सचेत नहुने हो भने महासंघको औचित्य पनि के नै रह्यो र ?

अहिले नेपाल पत्रकार महासंघको चुनाव सम्पन्न भएको छ । जसबाट नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्व चयन हुँदा पनि एमाले हार्‍यो र कांग्रेस-माओवादी गठबन्धन विजयी भएको ट्‍याग महासंघको नयाँ कार्यसमितिले पाएको छ । चुनावी प्रतिस्पर्धा राजनितीबाट टाढा रहन सकेन । नवनिर्वाचित पदाधिकारीले राजनीतिक हस्तक्षेपमुक्त पत्रकारिता होला भनेर ढुक्क हुने स्थिति अझै देखिदैन् । यस्ता थुप्रै चुनौतीको सामना गरी नवनिर्वाचित कार्यसमितिले श्रमजिवि पत्रकारको हकहित र व्यवसायिक पत्रकारिताको विकास गर्न सक्षम बनोस् शुभकामना छ । अब राजनीतिक दलका लागि भन्दा पनि समाजका लागि र राष्ट्रको विकास र उन्नतीका लागि विकास पत्रकारिता अपरिहार्य छ । अहिलेका राजनीतिक दलका नेताले दिएको भाषण, व्यवसायिले गरेको विज्ञापनलाई समाचार बनाउने र प्रहरीले दिएको धरातलीय सूचनामा नेपाली पत्रकारिता टिकिरहेको छ । राजनीतिक चिरफार गर्नुमात्रै स्वस्थ पत्रकारिता होइन यसले देशका सबै पक्ष र क्षेत्रलाई समेट्नुपर्दछ ।

स्वस्थ पत्रकारिताले समाज र राष्ट्र परिवर्तनका सकारात्मक पाटोलाई खोतल्न सक्नुपर्दछ किनकि पत्रकारिता भनेको चेतना, विकास र समृद्धिको पहिलो खुड्किलो हो । विकास र अनुसन्धानात्मक पत्रकारिताको खडेरी लागेको पत्रकारिता क्षेत्रमा अर्को ठुलो समस्या हो श्रमजिवि पत्रकारहरुमाथिको शोषण । प्रेस काउन्सिल र पत्रकार महासंघको प्रतिवेदनको आधारमा सरकारले श्रमजीवि पत्रकारहरुलाई आधारभूत सेवा सुविधा दिनपर्ने र नदिने मिडियाहरुलाई कारबाही गर्ने घोषणा गरेको छ । तर, यसको अनुगमन र नियमनकारी निकाय नै मौन छ । पत्रकारको पनि मिडियाले दिएको पत्रकारको कार्ड झुण्ड्याएर त्यसको गलत फाइदा उठाउनेतीर नै बढी ध्यान केन्द्रीत देखिन्छ ।

अब पत्रकारितालाई पर्चाकारिता, पदकारिता र पैसाकारिता भन्दा पनि व्यवसायिका मर्यादा र आचारसंहिताभित्र रहेर काम गर्न आवश्यक छ । भनसुन, नातावाद,कृपावाद, सोर्सफोर्स,अति राजनीतिकरणका विरुद्धमा जोड दिन आवश्यक छ । यो राष्ट्र सम्पूर्ण नेपालीहरुको साझा सम्पक्ति हो, यसको पहिचान र अस्तित्व बोध गराउन यो पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्नुपर्दछ ।

इमान्दारी, अनुशासित, मर्यादित र जिम्मेवारीपूर्वक सत्यतथ्य रुपमा पत्रकारिता गर्नु भनेको पत्रकारहरुको लागि ठूलो आराधना नै हो । सामाजिक, सांस्कृतिक, राजनीतिक विकृति र विसंगतिका विरुद्ध शसक्त आवाज उठाउन र सकारात्मक परिवर्तनका पक्षमा खरो रुपमा उत्रनु पर्दछ ।

यो क्षेत्रले राजनीतिक रुपमा हरेक क्षेत्रमा जरा गाडेर बसेको व्याप्त भ्रष्टाचार निर्मुल पार्न प्रशासन र त्यस्ता राजनीतिक क्षेत्रको ढोका घच्घच्याउन अत्यन्त जरुरी छ । पत्रकारिता क्षेत्रले आजको समयमा एकदमै चासोको विषयको रुपमा रहेको मानवअधिकार बारेमा जनतालाई सुसूचित गराउने तर्फ कलम चलाउन पर्दछ । राज्यले तोकेका वैधानिक सीमा र क्षेत्रबाट बिमुख हुन कोही पाउँदैनन् । त्यसकारण पत्रकारिता क्षेत्रलाई स्वस्थ बनाउन हामी सबैको सोचमा परिवर्तन गर्न आवश्यक छ ।