काठमाडौं: काभ्रेको खोपासीमा रहेको २.४ मेगावाट क्षमताको पनौती जलविद्युत् गृहलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने भएको छ।
नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयबीच १० वर्षसम्म विद्युत् गृहलाई शैक्षिक र अनुसन्धान केन्द्रको रुपमा प्रयोग तथा विकास गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

धुलिखेलमा बिहीबार आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं विश्वविद्यालयका उपकूलपति प्रा.डा. रामकण्ठ मकाजू श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। दुवैपक्षको सहमतिमा एमओयूको म्याद थप्न सकिने र तीन महिनाको सूचना दिएर एमओयु खारेज गर्न पनि सकिने व्यवस्था एमओयूमा गरिएको छ।


प्राधिकरणलाई वित्तीय भार नपर्ने गरी विद्युत् गृहको सुदृढीकरण, नयाँ संरचना निर्माण लगायतका सम्पूर्ण काम विश्वविद्यालयले गर्ने छ। विद्युत् गृहबाट अहिले उत्पादन भइरहेको ऊर्जा नघट्ने गरी विश्वविद्यालयले त्यस्ता संरचनाको प्रयोग गर्ने छ। विद्युत् गृहबाट गत वर्ष २६ लाख ३० हजार युनिट विद्युत उत्पादन भएको थियो। विद्युत् गृहको सञ्चालन भने प्राधिकरणले नै गर्ने छ।

विश्वविद्यालयले सिभिल, मेकानिकल, इलेक्ट्रिकल जलविद्युत् लगायतका  इन्जिनियरिङ विषयमा स्नातक, स्नातकोत्तर, विद्यावारिधि जस्ता शैक्षिक कार्यक्रम तथा तालिम सञ्चालनका लागि विद्युत् गृहको स्वामित्वमा रहेका संरचना र जग्गाको प्रयोग गर्ने छ। विद्युत् गृहका टर्बाइन, जेनेरेटर, नहर लगायतका संरचनाको सुदृढीकरण विश्वविद्यालयले आफ्नै खर्चमा गर्ने व्यवस्था एमओयूमा गरिएको छ।
प्राधिकरण र विश्वविद्यालयले ज्ञान तथा सीप साटासाट गर्न संयुक्तरुमा तालिम, सम्मेलन, कार्यशाला, शैक्षिक लगायतका कार्यक्रम सञ्चालनबाट नाफा प्राप्त भएमा त्यसको १० प्रतिशत प्राधिकरणले पाउने व्यवस्था गरिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विश्वविद्यालयले आफ्नै खर्चमा विद्युत् गृहको क्षमता स्तरोन्नती गर्ने, अहिले त्यहाँ रहेका संरचनाको सुदृढीकरण तथा नयाँ बनाउने लगायतका काम गर्ने जानकारी दिए। यसबाट प्राधिकरणको सम्पत्तिको संरक्षण र सदुपयोग हुने उनले बताए।
‘शुख्खायामको ऊर्जा बढाउन विद्युत् गृहभन्दा तल रहेको सोलान्दु लगायतका खोलाखोल्सीको पानी पम्प गर्ने लगायतका सम्भावना विश्वविद्यालयले आफ्नै खर्चमा खोजी गरी आवश्यक संरचना निर्माण गर्ने छ’, उनले भने, ‘प्राधिकरणलाई आतिरिक्त वित्तीय दायित्व सिर्जना नहुने गरी विश्वविद्यालयले विद्युत् गृहलाई जलविद्युत, वायु र सौर्य ऊर्जाको हाइब्रिड हबको रुपमा पनि विकास गर्ने छ।’