काठमाडौंः नेपाल परिवार दलले कोभिड–१९ को महामारीमा राहतस्वरुप एक सय क्विन्टल चामल सहयोग गर्ने जनाएको छ ।

दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरस महामारीको कारण सृजित लामो लकडाउनले पिडित बनेका अति बिपन्न नेपाली समुदाय भोकै बस्न नपरोस भनेर खाद्यान्न सहयोग गर्ने निर्णय गरेको दलका अध्यक्ष एकनाथ ढकालल बताए ।

उक्त राहत स्थानीय निकाय तथा सुरक्षाकर्मीहरुसँगको समन्वयमा सरकारले निर्धारण गरेको मापदण्ड अनुसार वितरणको व्यवस्था मिलाउन परिवार दलले जिल्ला कार्य समितिलाई जिम्मेबारी दिएको छ ।


बैठकले महामारीको कारण सामाजिक अस्थिरता, बेरोजगार र हिंसा बढ्न सक्ने खतरा प्रति सरकारलाई सचेत गराउदै तुरुन्त कोभिड–१९ पीडितहरुको लागि राहत प्याकेज घोषणा गर्न आग्रह गरेको छ ।

यसअघि नेपाल परिवार दलले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा संचारकर्मीहरुको लागि हजारौं थान मास्क वितरण गरिसकेको छ ।

बैठकले केहि समय अघि तत्कालिन नेपाल संघिय समाजबादी पार्टी परित्याग गरी नेपाल परिवार दलमा प्रवेश गरेका अनिल भण्डारी (काठमाडौं) र श्रीमति बुद्धिमाया पुन (रुपन्देही) लाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेको छ ।


प्रकाशित मितिः शनिबार, वैशाख १३, २१:२१