मोरङः पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा हुन लागेको ईन्जिनियरिङ संकायतर्फको बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा पूर्व नै बाहिर ल्याएको अभियोगमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ बस्ने ४४ वर्षीय कोमल प्रसाद गौतम, संखुवासभाको मादी नगरपालिका–६ बस्ने ३५ वर्षीय गोपाल कार्की, रुपन्देहीको तिलोचन नगरपालिका–१२ बस्ने ३० वर्षीय विजय पोखरेल, गोरखाको भिमसेन थापा गाउँपालिका–१ बस्ने ३२ वर्षीय मिन प्रसाद भट्ट, गोरखाकै गण्डागी गाउँपालिका–३ बस्ने ३१ वर्षीय भरत पठन, गोरखाकै गोरखा नगरपालिका–४ बस्ने २६ वर्षीय विकास खड्का, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ बस्ने २८ वर्षीय निर्मल खड्का, महोत्तरीको रामगोपालपुर नगरपालिका–९ बस्ने २९ वर्षीय नानिपथ मण्डल, सप्तरीको वोदेवरसाईन नगरपालिका–७ बस्ने २९ वर्षीय जीवन कुमार यादव र सप्तरीको अग्नीसायर कृष्णसवरण गाउँपालिका–५ घर भई भक्तपुरको लोकन्थली बस्ने २६ वर्षीय महेश यादव रहेका छन् ।


परीक्षा पूर्व नै प्रश्नपत्र बाहिरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त विश्वविद्यालयका फोटोकपी गर्ने कर्मचारीले सामाजिक संजाल प्रयोग गरी प्रश्नपत्र बाहिर ल्याएको भन्ने खुल्न आएपछि उक्त कार्यमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु विरुद्ध शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १३ गते सोमबार, २०:०५