पर्वतः पर्वतमा लागूऔषध र सवारी ज्यान कसूर मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध कसूर मुद्दामा फरार रहेका फलेवास नगरपालिका–२ ठापाठाना बस्ने ३७ वर्षीय रुबेन क्षेत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कास्कीको २०६६ जेठ ८ गतेको फैसलाले लागूऔषध कसूर मुद्दामा १ वर्ष १० महिना ६ दिन कैद सजाय ठहर भइ फरार रहेका क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी कार्कीनेटा पर्वतबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

यसैगरी सवारी ज्यान कसूर मुद्दामा फरार रहेका कुश्मा नगरपालिका–१० पिपलटारी बस्ने ५७ वर्षीय चन्द्र बहादुर केसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।


जिल्ला अदालत धादिङको २०५४ असार १७ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ हजार रुपैयाँ जरिवाना र २ महिना २२ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले कुश्मा नगरपालिका–७ खरेयाबाट फेला पारी पक्राउ गरेको हो ।

पक्राउ व्यक्तिहरूलाई जिल्ला अदालत पर्वतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।


प्रकाशित मितिः शनिबार, असोज २४, २०७७, १७:१३