काठमाडौंःकेही दिन यता पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर बद्लीसँगै वर्षा तथा हिमपात गरएको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले गएराति समेत केही उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात भएको जनाइएको छ । अझै केही दिन हिमपातको सम्भावना रहेकाले पहाडीसहित हिमाली भूभागका स्थानमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आइतबार दिनभर देशका अधिकांश क्षेत्रमा सामान्य बदली हुनेछ । पश्चिमी क्षेत्रका थोरै स्थान र मध्य तथा पूर्वका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।


। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यस्तै आइतबार राति देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा राति पनि हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ ।

महाशाखाले शनिबार साँझ मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै नेपालमा न्यूनचापीय वायुको प्रभाव कायमै रहेको हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बद्ली भई बाँकी भूभागमा आंशिक बद्ली रहेको जनाएको छ ।

आजा दिउँसो देशको पश्चिमी क्षेत्र तथा मध्य र पूर्वी पहाडी भेगमा सामान्य बदली रहनेछ भने बाँकी भेगमा आंशिक बदली तथा पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

सोमबारदेखि देशको केही पहाडी भेगमा आंशिक बदली रहे पनि अधिकांश भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा ३३ मिलिमिटर वर्षा भएको छ । नेपालगञ्जमा ५३, वीरेन्द्रनगरमा ३१, दिपायल र डडेलधुरामा समान २४ मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै जुम्लामा ३६, पोखरा र दाङमा समान १७, लुम्लेमा ५०, भैरहवा र सिमरामा समान २१ मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङमा ३८, ओखलढुङ्गामा २४, जिरीमा ३१ मिलिमिटर वर्षा भएको छ ।


प्रकाशित मितिः आइतबार २९ मङ्सिर, ०८:२१