काठमाडौंः पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार पश्चिमका उच्च पहाड तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने मौसमविदले बताएका छन् ।

पश्चिमी न्यून चापीय प्रणाली बुधबार बेलुकासम्म सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमा समेत मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको उनले बताए ।

सो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरि बदली हुने र न्यूनतम तापक्रम अति कम भइ देशभरि चिसो बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार र बिहीबार पश्चिमी क्षेत्रका धेरै ठाउँ र मध्य तथा पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाइएको छ ।


। पश्चिमी न्यून चापीय प्रणाली शुक्रबारसम्म नै सक्रिय रहने छ ।

उच्च पहाडी र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात हुन सक्ने र पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा हुने तथा तापक्रममा गिरावट हुने सम्भावना रहेकाले हिमपात र चिसोबाट बच्न सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।

हाल देशका पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार दिनभरजसो पश्चिम र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी क्षेत्रमा मौसम सफा सम्भावना छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । पश्चिमको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

काठमाडौँ उपत्यकासहितका क्षेत्रमा मंगलबार केहीबेर आंशिक बदली भए पनि दिउँसो मौसम खुल्ने देखिएको छ । तराईका क्षेत्रमा लागेको हुस्सु र कुहिरो दिउँसो केही समय खुल्ने जनाइएको ।

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम मंगलबार बिहान १.५ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर १७ डिग्रीसम्म पुग्ने सम्भावना छ ।


प्रकाशित मितिः मंगलबार १५ पौष, ०७:५६