दार्चुलाः नेपाली भूभाग मिचिरहेको कालापानी क्षेत्रमा भारतले आफ्ना सुरक्षा निकाय थपिरहे पनि नेपालतर्फको सुरक्षा उपस्थिति भने १९ किलोमिटर वरसम्म शून्य रहेको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, व्यास गाउँपालिका–१ छाङरु गाउँबाट दक्षिणपूर्व तिंकर खोलानजिकको सीतापुल प्रहरीचौकी नै नेपालको पश्चिमी सीमातर्फको अन्तिम सुरक्षा उपस्थिति हो । जीर्ण अवस्थाको यो चौकीमा सहायक प्रहरी निरीक्षकको नेतृत्वमा १३ जनाको टोली छ । सीमा क्षेत्रको एकमात्र चौकी भएकाले स्थानीय नागरिकलाई सुरक्षा दिने दायित्व पनि यही टोलीमाथि छ ।

नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर भारतले हालै जारी गरेको नयाँ नक्साअनुसार नेपाल–भारत सीमा वारिपारि कौवा र गुञ्जी क्षेत्र पर्छ ।


। नेपालतर्फको ठाउँ कौवा हो भने भारततर्फको गुञ्जी । कौवाबाट कालापानी ९ किलोमिटर उत्तरमा पर्छ । यी दुई विन्दुबीच मात्रै भारतका आधा दर्जन सुरक्षा अंग छन् ।

नेपालतर्फ भने कौवाबाट १० किलोमिटर वर गागामा त्यही एउटा सीतापुल चौकी छ । चीनसितको रणनीतिक क्षेत्रसमेत भएकाले भारतले भने उक्त ठाउँहरूमा सुरक्षा निकायहरूको उपस्थिति बढाउँदै लगेको छ । भारतीय सेना, सीमा सुरक्षा बल, भारतीय बोर्डर पुलिसलगायत सुरक्षा निकायका करिब १० हजार जनशक्ति तैनाथ रहेको स्थानीय बताउँछन् ।


प्रकाशित मितिः आइतबार, कार्तिक २४, ०७:३६