काठमाडौंः मुग्लिन–नारायणगढ सडकखण्डमा आज फेरि पहिरो गएको छ । चार किलोमा बिहान ६ बजे ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ ।

पहाड नै खसेकाले बाटो तत्काल खुल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । अहिले बाटो खुलाउन डोजर तथा एक्साभेटर ल्याउने तयारी भइरहेको छ । पहिरो गए पछि बाटो अवरुद्ध भएको छ ।

हरेक दिन जाने पहिरोका कारण मुग्लिन नारायणगढ सडकको यात्रा कष्टकर बन्दै गएको छ ।तर आज बिहानै फेरि पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । हिजो बिहान ५ बजेतिर खसेको पहिरो ११ घण्टा पछि बल्ल खुलेको थियो ।

पहिरो जाने क्रम जारी रहेको र पहिरो पन्छाउन अझै ७ देखी ८ घण्टा सम्म लाग्ने प्रहरी सहायक निरीक्षक इन्द्रबहादुर घिसिङले नेपाल तारालाई बताए ।