जाजरकोट – कुसे गाउँपालिका ९ पैकका ९३ वर्षीय वीरबहादुर  रोकायलाई गाउँघरमा  शुद्ध तोरीको तेल  पाउन छोडेकोमा  निकै चिन्ता लाग्ने गरेको छ । बजारमा बेच्न राखेका र  मिलमा पेलेका तेलहरू शुद्ध नहुने भन्दै रोकायले चिन्ता व्यक्त गरेका हुन्।

गाउँमा काठेकोलमा तोरीको तेल पेल्ने चलन हराउँदै गएपछि  शुद्ध तोरीको तेल पाउन समस्या परेको  उनको दुखेसो छ। पहिले  टोलपिच्छे  काठे कोल हुने र जताततै शुद्ध तोरीको तेल पाइने गरेपनि  अहिले  गाउँबाट काठे कोल हराउँदै गएपछि समस्या परेको उनको भनाइ छ।

‘पहिले टोल टोलमा ओखल र काठेकोल पाइन्थे जतातै शद्ध तोरीको  तेल  पाइन्थ्यो  तर अहिले  यत्रो गाउँपालिका भरी एक दुइटा मात्र कोल छन्’ उनले भने।


वीरबहादुर मात्र होइन  कुसेको मान्यजुरका उज्वल रोकाय पनि गाउँमा आफ्नो घर बाहेक अन्य स्थानमा काठका कोल नभएको र अन्य स्थानीयहरू मिलतिर तेल पेल्न जाने गरेको बताउँछन्।

खानको लागि मात्र नभइ स्वास्थ्यका लागि  समेत काठेकोलमा पेलेको तेल उपयुक्त हुने भएपनि स्थानीयहरू सजिलोका लागि मिलमा गएर तेल पेल्ने  गरेको तिलकले बताए। उनका अनुसार काठेकोलमा  तेल पेल्न  झन्झट हुने भएकोले सबैले कोल बिर्सदै गएको बताए।

स्थानीय  पहिचान र परम्पराको रुपमा रहेका पुराना काठेकोलहरू, पानी घट्टहरू र ओखलहरूमा पिसिएका खाद्यन्न निकै स्वस्थकर र ताजा हुने भएपनि सरोकारवालाहरू र युवा पुस्ताको वेवास्ताका कारणले हराउँदै गएको उनको गुनासो छ। नागरिक दैनिकमा समाचार छ ।