काठमाडौंः पाटन बहुमुखि क्याम्पसले आठौं बीएससी–सीएसआईटी कप राष्ट्रव्यापी टी– २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

बुधबार न्यु समिट कलेजको आयोजनामा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा पाटनले एकेडेमियालाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ रोजेको एकेडेमियाले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा ९८ रन बनायो । मधुसुदन खनालले २२ तथा विपिन महर्जनले १७ रन बनाए । बलिङतर्फ पाटनका रुपेश बुढाथोकीर निर्मल लुइटेलले समान २ विकेट लिए ।

जवाफमा पाटनले १४.४ ओभरमा ३ विकेट गुमाउदै १ सय रन बनायो । हिमाल ज्ञवालीले २५ र सुनिल खड्काले नटआउट २४ रन जोडे ।


। बलिङतर्फ एकेडेमियाका चिन्तामणि विश्वकर्माले २ र भुवन शाहीले १ विकेट लिए । पाटनका सुनिल ‘म्यान अफ द म्याच’ बने ।

पाटनका चक्र तिमल्सिना ‘म्यान अफ द सिरिज’ घोषित भए । चक्रले ७ खेलबाट १७ विकेट लिए । ४ खेलमा १३ विकेट लिएका एकेडेमियाका चिन्तामणि विश्वकर्मा उत्कृष्ट बलर चुनिए । हिमालयन कलेज अफ इन्जिनिएरिङका किरण विष्ट उत्कृष्ट ब्याट्सम्यान ठहरिए ।

उपाधिसँगै पाटनले ६० हजार नगद पुरस्कार पायो भने एकेडेमियाले ४० हजार नगद पुरस्कारमा चित्त बुझायो ।

फागुन १७ गतेदेखि सुरु प्रतियोगितामा १३ छात्र टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । नवौं संस्करण पाटनले आयोजना गर्ने भएको छ । विजेताले अर्को संस्करण आयोजना गर्ने प्रावधान अनुरुप पाटनले नवौं संस्करण आयोजना गर्ने भएको हो ।


प्रकाशित मितिः बिहीबार, फागुन २९, ०६:३५