नेपाल तारा- पछिल्लो निर्वाचनमा हार वेहोरको कांग्रेसभित्र अहिले सम्मपनि हार र त्यसका प्रतिकारका विषयहरु सेलाएका छैनन् । नेताहरुले हारको विषयलाई लिएर अहिले सम्म पनि बिभिन्न कार्यक्रम र कार्यक्रर्ताबीचमा पोख्दै आएका छन् ।

पार्टीभित्र देखिएको गुट–उपगुटसँगै आ–आफ्नो तरिकाले चुनावी मूल्याङ्गन गर्ने शैली नेपाली कांग्रेसका नेताहरुमा सेलाउनु साटो झन् मौलाउँदै गएको छ । पार्टी सभापती देउवा निकट चिनिने नेताहरुले तत्कालीन एमाले र माओवादीको चुनावी एकताले गर्दा कमजोर बन्न पुगेको बताउँदै पपुलारिटि मतमा कमजोर नभएको प्रतिकया दिदैं आएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलामा पक्षमा उभिदै आएका नेताहरुले त्यसको खण्डन गर्दै सभापतीको कमजोर नेतृत्व तथा निर्णय क्षमताको अभावमा पार्टीले हार वेहोर्नु परेको र पार्टी कमजोर बन्दै गएको अभिव्यक्ति दिने गरेको देखिन्छ ।


पार्टी भित्रका यस्तै अन्तरबिरोधकाबीच चितवन नेपाल दलित संघले आयोजना गरेको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले चुनावमा कांग्रेस पराजय हुनाको कारण म सभापति भएर होईन अन्र्तरघात भएर हारेको अभिब्यक्ति समेत दिएका थिए । उनले अन्र्तघात गर्ने क्रमले पार्टी बलियो नहुने बताउँदै अन्र्तघात गर्नेलाई कारवाही गरेरै छाड्ने समेत उद्घोष गरेका छन् । सोही कार्यक्रममा महामन्त्री शशांक कोइरालाले अब पार्टीका अन्र्तरविरोध र आन्तरिक गुट–उपगुटलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । पार्टीभित्रको तीक्तता मेटिएमा कुनै पनि शक्तिले कांग्रेसलाई हराउन नसक्ने र त्यसको लागि आन्तरिक रुपमा विभाजित रहेको कांग्रेसलाई मिलाउने पक्षमा आफु रहेको उनले बताएका थिए । पार्टी एक बनाउन आवश्यक रहेको भन्दै कोइरालाले भनेका थिए भगवानले मलाई तेरो इच्छा के छ भनेमा म पार्टी एकता बनाइदिन अनुरोध गर्दछु ।

यसरी पछिल्लो समयमा नेपाली कांग्रेसका भातृ संगठन नेपाल शिक्षक संघ, निजामती कर्मचारी संघ, ट्रेड युनियनका निर्वाचनमा समेत स्पष्ट कित्ता देखिनु, देउवा पक्षको नेतृत्व कमजोर बन्नुले पनि अब पार्टी भित्रको अन्तरबिरोध र गुट–उपगुटको अन्त्य हुनु आवश्यक देखिएको छ । अर्कोतर्फ महामन्त्री कोइरालाले पार्टीलाई एकजुट बनाउन देउवा पक्ष र रामचन्द्र पक्षबीच खेल्ने भूमिकाले पनि यसको महत्व राख्दछ । जसरी महामन्त्रीले पार्टीभित्र रहेका असन्तुष्ट पक्षलाई मिलाएर लैजानको लागि आफ्नो भूमिका बनाउँदै जान र दुबै पक्षहरुबीच सम्मानजनक भूमिका र नेतृत्व प्रदान गर्न जोड दिन सक्ने हो भने पार्टी पुनः एक ठाउँमा उभिन सक्दछ ।

नेपालमा कम्युनिष्टहरुको वर्चस्व क्रमश वढ्दै गएको र प्रजातान्त्रीक सिद्धान्त मान्ने पार्टीहरु कमजोर हुँदै गएको अवस्थामा नपाली कांग्रेसभित्र रहेको आन्तरिक विवाद अन्त्य हुनु आवश्यक छ । प्रजातान्त्रीक मान्यता बोेकेको नेपालको ठूलो पार्टी कांग्रेसले आन्तरिक क्षमतालाई बलियो बनाउँदै अन्य प्रजातान्त्रीक मान्यता बोकेका पार्टीहरुलाई समेत एकठाउँमा ल्याउँन सक्नुपर्दछ । परिवर्तित समयसँगै कांग्रेसलाई सशक्त बनाएर लैजानु आवश्यक छ । कांग्रेसभित्र नयाँ ढंगले वैचारिक बहस चलाउनु र नीतिगत, रणनीतिगत, निर्णायक, व्यावहारिक पक्षमा आवाज उठाउँनुपर्ने पछिल्लो समयमा कांग्रेसभित्र रहेको आन्तरिक ब्यवस्थापन र गुट उपगुटको अन्त्य सार्वाधिक महत्वपूर्ण हुन्छ र यसले नेपाली राजनितिमामा नयाँ तरङ्ग पैदा गर्नुका साथै कांग्रेस बलियो र आगामी निर्वाचनमा पुनः पहिलो शक्तिकै रुपमा उदय हुन सक्दछ ।