काठमाडौंः राजधानीको ६ स्थानमा अत्याधुनिक वाटर एटीएम राखिने भएको छ । राजधानीमा पार्क घुम्न आउने बटुवालाई स्वच्छ पानी खुवाउने अभियानसहित काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ती स्थानमा वाटर एटीएम जडान गर्न लागेको हो । अबको करिब एक महिनाभित्र ती सबै स्थानमा वाटर एटीएम जडान भइसक्ने काठमाडौं महानगरपालिका शहरी योजना आयोगले जनाएको छ ।

बोर्डले शंखपार्क, स्वयम्भू भगवान्पाउस्थित भुइँखेल, बालाजुपार्क, रत्नपार्क र मीनभवनस्थित ट्रलीबस भवन परिसर एवम् पुष्पलाल पार्कमा स्वचालित वाटर एटीएम स्थापना गर्न लागेको हो । आयोगका सचिवालय प्रमुख इन्जिनियर रवीनमान श्रेष्ठले बोर्डसँग सम्झौता भइसकेकाले एक महिनाभित्र एटीएम जडान हुने बताउँदै भने, ‘सबै प्रक्रिया पूरा भइसकेकाले अब जडान सुरु हुन्छ ।


।’

२ सय मिलिलिटर कपमा प्रतिकप दुई रुपैयाँ लिने व्यवस्था भएको एटीएममा रकम सटही गर्नेसमेतको प्रविधि जडान गरिएको छ । दुई रुपैयाँको क्वाइन नभएको अवस्थामा एटीएम मेसिनमा नोट छिराएपछि दुई रुपियाँ काटेर एटीएमबाट रकम फिर्ता लिने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले नगन्य मात्रामा क्वाइन निकाल्न थालेपछि अहिले दुई रुपियाँको क्वाइन अभाव रहेको छ । ‘तर नोट छिराएपछि दुई रुपियाँ काटेर पानी आउने नयाँ प्रविधि जडित एटीएम राख्न लागेका हौं ।’ –श्रेष्ठले भने ।

कामपा र बोर्डबीच भएको सम्झौताका तीन वर्षसम्म मेसिन जडान गरी सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा बोर्डले लिएको छ । बोर्डले जडान गरेको सो एटीएमबाट रकमअनुसार पानी लिन मिल्नेसमेत व्यवस्था गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र मा छ ।


प्रकाशित मितिः आइतबार, फागुन २५, ०७:१५