काठमाडौंः पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको च्याम्पियन बनेको छ ।

शुक्रबार राति भएको खेलमा लियोनलाई सडनडेथमा ६–५ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय र थप गरिएको समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइदा पीएसजीले बाजी मारेको हो । पीएसजीले सबै ६ पेनाल्टीमा गोल गर्दा लियोनका बर्टरान्ड ट्राओरेको पेनाल्टी असफल भएको थियो ।

पीएसजीका एन्जल डि मारिया, मार्को भेराट्टी, लियान्द्रो ड्यानियल पाराडेस, एन्डर हेरेरा, नेयमार र पाब्लो सारावियाले गोल गरे । लियोनका जोअचिम एन्डरसन, कार्ल टुको एकम्वी, म्याक्सइन्स, थियागो मेन्डिस र हुसेन एओअरले गोल गर्दा बर्टरान्ड ट्राओरेले पेनाल्टी चुकाएका थिए ।


अन्तिम समयमा लियोन १० खेलाडीमा समेटिएको थियो । ११९ औं मिनेटमा एन्जल डि मारियामाथि फल गरेपछि रेफ्रीले राफयललाई सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको थियो ।

यससँगै पीएसजीले सिजनको तेस्रो उपाधि जित्दै फ्रेन्च फुटबलमा दवदवा कायम गरेको छ । पीएसजीले यसअघि फ्रेन्च लिग वानको उपाधि र कप डि फ्रान्सको उपाधि आफ्नो पक्षमा पारिसकेको थियो ।


प्रकाशित मितिः शनिबार, साउन १७, २०७७, ११:००