काठमाडौंः फ्रेन्च लिग वानको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) मार्सीलेसँग पराजित भएको छ ।

आइतबार राति भएको लिगको आफ्नो दोस्रो खेलमा पीएसजी घरेलु मैदानमा मार्सीलेसँग १–० ले पराजित भएको हो ।

मार्सीलेका लागि फ्लोयिन थोउभिनले गोल गरे ।

खेलको ३१ औं मिनेटमा अफसाइड बिट गर्दै फ्लोयिनले पाहुना टोली मार्सीलेका लागि विजयी गोल गरेका थिए ।

खेल अवधिभर १७ वटा कार्ड रेफ्रीले देखाएका थिए । लिग वानको खेलमा यो कीर्तिमानी कार्ड संख्या हो । खेल अवधिभर निकै आक्रामक रुपमा देखिएका दुवै टोलीका खेलाडी अन्त्यतिर हात हालाहाल मै उत्रँदा रेफ्री जेरोम ब्रिसार्डले ५ खेलाडीलाई रातो कार्ड देखाए ।


। त्यसअघि उनले १२ पटक पहेंलो कार्ड देखाउन बाध्य भएका थिए ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका पीएसजीका लिएन्ड्रो परेडेस र लेविन कुर्वावा तथा मार्सिलेका जोर्डन अमावी र डेरियो बेनेडेटोसंगै नेयमारलाई मैदान बाहिर पठाईएको थियो । रेफ्रीले भिडियो फुटेजको सहायता मार्फत नेयमारलाई कार्ड देखाएका थिए । उनले अल्वारो गोन्जालेजको टाउकोमा हातले हानेको देखिन्थ्यो ।

लिग वानको सुरुवाती दुई खेलमा पीएसजीले हार ब्यहोरेको छ । सन् १९८४–८५ पछि पहिलो पटक लिग वानमा पीएसजी सुरुवाती दुई खेलमा पराजित बनेको हो ।


प्रकाशित मितिः सोमबार, भदौ २९, २०७७, ११:२१