पोखराः दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा बुटवल ब्लास्टर्सले दोस्रो जित निकालेको छ ।

पोखरा रंगशालामा आज भएको खेलमा बुटवलले साविक विजेता तथा घरेलु टोली पोखरा पल्टनलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

पोखराले दिएको १ सय २२ रनको लक्ष्य बुटवलले १४ ओभरमा मात्र २ विकेटको क्षतिमा भेट्टायो ।

बुटवलको जितमा अफ्ताबुद्दीन अहमेदले ७५, शंकर रानाले १९ तथा भीम सार्कीले अविजित १६ रन बनाए ।

पोखराका प्रथामेस डाके र राशिद खानले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।


पोखराका लागि रबि इन्दर सिंहले अविजित ४५, प्रथामेस डाकेले अविजित २०, रोहित कुमार पौडेलले १९ र इशान पाण्डेले १३ रन बनाए । बुटवलका हर्स टोकले २ तथा ललितसिंह भण्डारी, शिवम सिंह र नितेश थापाले १/१ विकेट लिए ।

जितसँगै बुटवल ३ खेलमा ४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

पोखराको यो लगातार तेस्रो हार हो । पोखरा ४ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।


प्रकाशित मितिः शुक्रबार, पुस ४, १२:३९