भक्तपुरः काठमाडौं उपत्यकामा कोरोना (कोभिड–१९) महामारी तिव्र रुपमा फैलिएको भन्दै पुनः निषेधाज्ञा जारी गर्न भक्तपुर नगरपालिकाले सरकारसँग आग्रह गरेको छ ।

नगरपालिकामा आज बसेको नगरस्तरीय प्रकोप व्यवस्थापन केन्द्रको बैठकले काठमाडौं उपत्यकामा एकै दिनमा २ हजार ६ सय भन्दा बढीमा संक्रमण पुष्टि भएकाले संक्रमणको खतरा बढेको भन्दै पुनः निषेधाज्ञा गर्न सरकारसँग आग्रह गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।

दशैंको समयमा हुन सक्ने संक्रमणको जोखिमलाई ध्यानमा राखी नगरपालिकाले वडा–वडामा स्वयंसेवक परिचालन गरी कोभिड–१९ बारे सर्वसाधारण जनतालाई निरन्तर सचेत गरिरहने उनले बताए ।


पछिल्लो समयमा काठमाडौं उपत्यका कोरोनाको केन्द्र बन्दै गएको भन्दै तत्काल निषेधाज्ञा लगाउनुपर्ने उनको भनाई छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञा खुकुलो बनाएसँगै उपत्यकामा कोरोनाको जोखिम निकै बढेकोमा चिन्ता व्यक्त गर्दै नजिकिँदै गरेको दशैंमा भीडभाड रोक्न जिल्ला प्रशासन कार्यालय तदारुकताका साथ अगाडि बढिरहेको बताईन् ।

दशैंको समयमा भीडभाड बढेर कोरोना संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल सरकारलाई विगतमा जस्तै अतिआवश्यक सेवाबाहेकका अन्य सेवाहरु बन्द हुने गरी पुनःनिषेधाज्ञा गर्न अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्रका सदस्यहरुले दैनिक हजारौंको संख्यामा संक्रमितहरुको बढिरहेको अवस्थामा भक्तपुर नगरपालिका क्षेत्रमा हालसम्मको संक्रमणको अवस्था र यसको रोकथाम तथा नियन्त्रणको लागि भक्तपुर नगरपालिका र अन्य सरोकारवाला निकायहरुबाट भए गरेका सबै प्रकारका प्रयासहरुबारे बैठकमा जानकारी गराइएको थियो ।


प्रकाशित मितिः २०७७ साल असोज २५ आइतबार, १९:१९