काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाह आज स्वदेश फर्कदैं छन् ।

दुई साता लामो भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र सपरिवार आज दिउँसो साढे २ बजे नेपाल आइपुग्ने कार्यक्रम छ ।

ज्ञानेन्द्र सपरिवार भारतको नयाँदिल्ली र अमृतशहरस्थित शिखहरुको पवित्र तीर्थस्थल स्वर्ण मन्दिर दर्शन गर्न भारत गएका थिए ।

यही फागुन ४ गते भारत भ्रमणमा निस्केका ज्ञानेन्द्रले भारतको राजधानी नयाँदिल्लीमा उच्च राजनीतिक भेटघाट गरेको स्रोतको दाबी छ ।

ज्ञानेन्द्रको साथमा पत्नी कोमल, बहिनी शोभा शाही, ज्वाइँ मोहनबहादुर शाही, सालाभाइ उदयशमसेर राणा र उनकी धर्मपत्नी रोशनी राणा, निजी सचिव सागर तिमल्सिना र निजी अंगरक्षक सशस्त्रका डीएसपी राजेन्द्र गुरागाईंसहित करिब १२ जनाको टोली भारत पुगेको थियो ।


नेपाल फर्केर केही दिन काठमाडौं बस्ने र लगत्तै चैत १ गते झापा जाने कार्यक्रम तय भएको छ ।

करिब तीन महिना अघिदेखि झापास्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्दै आएका ज्ञानेन्द्रले पछिल्लो समय निकटका नातेदार र राजनीतिक आस्था राख्नेलाई झापामै भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।


प्रकाशित मितिः आइतबार, फागुन १८, ०८:३८