काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि नागरिकको रुपमा रमाउनुपर्ने बताएका छन् ।

आज गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् । उनले गणतन्त्र दिवसलाई जनस्तरसम्म पुर्‍याउन निर्देशन समेत दिएका छन् ।

गणतन्त्र सरकारी दिवस जस्तो नभएर जनताको उत्सव जस्तो बनाउनुपर्नेमा जोड दिदै उनले भने, यो दिवश गाउँपालिकासम्म नै मनाउनुपर्ने अवस्था सिर्जजना गर्नुपर्दछ । लामो संघर्षबाट गणतन्त्र ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मान्छे जन्मदै श्रेष्ठ हुने पाखण्डी प्रणालीलाई विस्थापन गर्दै प्रतिस्पर्धाबाट स्थापित हुने प्रणालीको रुपमा गणतन्त्र आएको बताए ।


प्रधानमन्त्री ओलीले राजसंस्थाप्रति संकेत गर्दै विष्णुको अवतारको भ्रममा परेर गतिविधि गर्ने दिन समाप्त भएको पनि बताएका छन् ।