काठमाडौंः पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान उनको निधन भएको हो ।

निमोनियापछि उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो ।

सीता २०१८ साउन १३ गते रोल्पामा जन्मेकी थिइन् । कृष्णबहादुर महरासँग उनको २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी रहेका छन् ।


पूर्व सभामुख महराकी पत्नी सीता महराको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

एक शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

यस्तै, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सीता महराको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले आज शोक वक्तव्य जारी गर्दै दिवंगत सीता महराप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुख महराकी पत्नी सीताको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

आज विज्ञप्तिमार्फत सापकोटाले ‘असामयिक निधनको खबरले मलाई मर्माहत बनाएको’ उल्लेख गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १९ बुधबार, १५:३६