भक्तपुरः काठमाडौं उपत्यकामा भोलि वैशाख १६ गतेबाट १५ दिनका लागि निषेधाज्ञा जारी गरेपछि उपत्यकाको पूर्वी नाकाबाट घर फर्किनेको भिड लागेको छ ।

आज बिहानदेखि भक्तपुरको थिमी, सल्लाघारी, सुुर्यविनायक जगाती लगायतका ठाँउहरुमा घर फर्किर्नेहरुको भिड लागेको हो ।

सयौंको संख्यामा घर फर्किनका लागि यात्रुहरु आ–आफनो गन्तव्यको गाडी कुरेर बसिरहेको देखिन्छ ।

कोरोना भाइरसको दोस्रो लहरले उपत्यका संक्रमणको दर उच्च भएपछि काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले ७ दिन र मन्त्रीपरिषद्ले थप एक हप्ता गरी १५ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । सोहि कारण पनि विभिन्न जिल्लावाट उपत्यकामा रोजगारीका र पढाईका लागि बसेकाहरु घर फर्किन थालेका हुन ।


अरनिको राजमार्ग हुँदै उपत्यकाको पूर्वी जिल्ला काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, झापा, विराटनगर लगायत पुर्वी तराईका ठाउँका यात्रुहरु घर फर्किएका हुन् । घर फर्किनेहरु गाडी नपाइने भन्ने डरले पनि गाडी भित्र कोचिएर असुरक्षित यात्रा गरिरहेका छन् ।

लामो समयसम्म हुने निषेधाज्ञाले बेरोजगार हुनु पर्ने भएपछि घर फर्किन वाध्य भएको उनीहरुको भनाई छ । सरकारले लामो दुरीका सावारी साधन भोलीबाट बन्द गर्ने निर्णय गरेकाले पनि घर फर्किने यात्रुहरुको चाप बढेको हो ।


प्रकाशित मितिः २०७८ साल वैशाख १५ गते बुधबार, १२:५९