भक्तपुरः सरकारले लकडाउन खुकुलो पारेसँगै काठमाडौं उपत्यका प्रबेश गर्ने सवारी साधनमा कडाई गरेको छ ।

काठमाडौं उपत्यकाको पूर्वी नाका साँगामा उपत्यका प्रबेश गर्ने सवारी साधनमाथि चेकजाँच कडा पारिएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

साँगामा प्रहरीहरुले सवारी पास नभएका दुई पांग्रे तथा चार पांग्रे गाडीहरुलाई जताबाट आएका हुन् उतै फर्काइदिएका छन् ।

साँगामा उपत्यका भित्रिने र उपत्यकाबाट बाहिरिने हरेक गाडीहरुलाई रोकेर प्रहरीले जाँच गरिरहेका छन् ।

सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि यहाँको नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको छ । काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था आइतबार गृह मन्त्रालयमा बसेको बैठकले गरेको थियो ।


गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनुपर्ने छ ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यलाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

लकडाउन खुकुलो भएको भन्दै उपत्यका प्रवेश गर्नेहरुको लर्काे लागेको यात्रुहरु बताउँछन् ।

केही ब्यक्तिहरु भित्रि बाटोको नाका हुँदे उपत्यका प्रवेश गर्ने देखेर साँगा नाकाका भित्रि सडकहरुमा पनि सुरक्षा ब्यवस्था कडाई गरिएको महानगरीय प्रहरी बृत जगाती प्रमुख डिएसपी चक्रराज जोशीले जानकारी दिए ।

अत्यावश्यक सेवाका सवारीसाधन, खाद्यान्न, एम्बुलेन्स र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका बाहेक अन्य सवारीसाधनहरूलाई काठमाडौं प्रवेशमा कडाइ गरिएको हो ।


प्रकाशित मितिः सोमबार, असार १, २०७७, २०:५२