कास्कीः पोखराका दुई ठाउँबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–८ ईन्द्रपुरी टोलमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।

ईन्द्रपुरी टोल बस्ने सुरेश गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा स्याङजा फेदिखोला–३ बस्ने २९ वर्षीय सुशिल रेग्मी लगायत ७ जनालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद १८ हजार ६ सय २० रुपैयाँ र २ सय ८० पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, पोखरा महानगरपालिका–८ रत्नचोक सुगम मार्गमा पनि जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।


रत्नचोक सुगम मार्गमा ३९ वर्षीय अमित भण्डारीको गिरी वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी लगायत ६ जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद ३० हजार ७ सय ७५ रुपैयाँ र ४ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः आइतबार, असार १४, २०७७, २०:५१