एउटा कार रोकियो, कारको एक साइडको कालो सिसा अटोमेटिक खोलियो। त्यहीबाट टाउको बाहिर निकाल्दै निधारमाथि कालो चश्मा लगाएका एक सज्जनले भने, “कति हो आमै एउटा मकैको ? ”
धुँवाले खोक्दै भनिन्, “२५।”
“२० मा आउँदैन ?”
“अहँ।”
“दिनुस् न दिनुस् २० मा, पाँच रुपैयाँ त हो नि।”
“यति दुख गरेर ल्याएको मकै। कसरी दिनु अलिकति पनि नाफा नगरी ?”
“अरु ठाउँमा त जतिपनि पाइन्छ है २० मा।”
“मिल्दैन हजुर।”
“नदिने त २० मा, उसोभए ?”
“२५ मै लैजानुस्। मकै मिठो छ।”
“जतिसुकै मिठो भएपनि २० मा दिइनौं, पाँच रुपैयाँ पनि मिलाइनौ। भयो चाहिएन।”
इति भनेर उनले गाडी गुड्यो।
ती आमैसँग मैले एउटा मकै किनेँ।
। र, त्यही छेउमा आड लाएर खान थालेँ। त्यो गाडी केही पर गयो र त्यही नजिकै एउटा रेष्टुरेन्टअगाडि पार्क गरकोे देखेँ। गाडीबाट झरेर ती सज्जन रेष्टुरेन्टभित्र पसे।
त्यो रेष्टुरेन्टलाई बाहिरबाट हेर्दा यतिचाहिँ यकिनसाथ भन्न सक्छु कि त्यहाँ पाइने सबैभन्दा सस्तो परिकार कम्तिमा १०० रुपैयाँभन्दा बढी नै पर्छ।
ती सज्जनले त्यस रेष्टुरेन्टमा खाने मम, चाउमिन वा अरु कुनै आइटम कम्तिमा १०० भन्दा बढीको पक्कै खानेछन्।
आफ्नो परिश्रमले कमाएको पैसा चाहे त्यस रेष्टुरेन्टमा १०० को मम, चाउमिन खाऊन् चाहे पाँचतारे होटेलमा। त्यो उनको स्वतन्त्रताको कुरा। तर मलाई एउटा कुराले गतिलरी छोयो।
अर्कोपनि खानुहुन्छ ? कस्तो लाग्यो मकै ? मकै पोल्ने आमाले मलाई सोधिन्।
खाँदै छु, मीठै छ मकै त, तर मलाई पुग्छ। मैले भनेँ।
धुँवाले उनको चाउरी परेको अनुहार कालो न कालो भएको छ। उनले मकैको खोस्टो निकाल्दै त्यसैले मकैलाई हम्कदैछिन्। उनको नाकको बुलाकी उनी हतारहतार गरेर मकै पोलिरहेकाले यसरी हल्लिरहेको देखेँ कि मानौँ त्यो बुलाकीले भनिरहेछ, “कति दुख गर्छेस् बूढी ? यो उमेरमा पनि।”
कति हो एउटा मकैंको ? कलेज ड्रेसमा सजिएका दुई युवतीमध्ये एकले सोधिन् ।
“२५”, “२० मा आउँदैन ?” अर्कीले भनिन्।
“आउँदैन।”
“ल दिनुस् न त ?”
“कतिवटा ?” भनेर उनले ती युवतीतिर यसरी हेरिन् कि मानौं उनका आँखाले भन्न खोजिरहेछन्, “लैजानुस् अलि धेरै।”
“दुईटा दिनुस्।” एउटीले भनिन्।
ती आमैले मकैको हरियो खोस्टामा दुईटा मकै राखिन् र दिँदै भनिन्, “लिनुस् नानी।”
उनीहरुले पैसा दिए र मकै खाँदै आफ्नो बाटो लागे।
हतारिदा उनको हात आगोको कोइलाले पोल्यो। हत झिकिन् र आफ्नो लगाइराखेको पुरानो धोतीको एक छेउले पोलेको औलालाई एकछिन् छोपिन्। एक मिनट नहुँदै हात झिकिन् र डढ्न लागेको मकै फेरि त्यही हातले फर्काइन्।
म तिनै आमैले पोलेको मकै खाइरहेछु उनको छेउमा बसेर। उनलाई राम्ररी नियाले ।
उनको हुलिया र बृद्ध उमेरमा पनि त्यो मेहेनत देखेर सोच्न बाध्य भएँ, कहाँ होलान् यिनका छोराछोरी र नातिनातिना ? कहाँ होला यिनको घर ? छोराछोरीले स्याहार गर्ने बेला सडकछेउमा यसरी दुख गर्नुपर्ने अबस्था कसरी आयो होला ?
अघि रेष्टुरेन्टमा छिर्ने सज्जन निस्के र आफनो गाडी लिएर लागे आफ्नो बाटो। रेष्टुरेन्टको मूल ढोकाबाट निक्कदा हातमा एउटा प्याक गरिएको खानेकुरा हातमा लिएको देखेँ। पक्कै त्यो रेष्टुरेन्टबाट उनले खानेकुरा लिएर गए सायद आफनो परिवारलाई।
उनले आफनो नजर फेरि ती बूढीआमैतिर लगे। अघिको कुरा फेरि सम्झिए, “जाबो पाँच रुपैयाँ।”
ती बूढीआमैले दिनमा पचासवटा मकै बेचिन् भनेपनि त्यो पाँच रुपैयाँ फाइदाको दरले गर्ने हो भने जम्मा हुन्छ २५० । दिनमा बढीमा २५० ले उनले आफ्नो पेट पाल्दैआएकी छन् होला । परिवारमा अरु कोही छन् भने तिनको पनि खर्च यतिले नै कसरी चलेको होला ?
गाडीवालको लागि जाबो पाँच रुपैयाँ उनको लागि कति महत्व रु त्यही पाँचपाँच रुपैयाँले त एउटा जीवन धानिएको छ।
मैले त्यो मकै खाइसकेँ। र, लागेँ, आफनो कोठातिर। बाटोमा अरु कुरा खेल्न थाल्यो।
त्यो गाडीवालले सुबिधायुक्त रेष्टुरेन्टमा सयौं खर्च गर्न सक्छ भने पाँच रुपैयाँ ती मकै बेच्ने आमैको लागि किन्न सकेन किन ? त्यो रेष्टुरेन्टमा १०० रुपैयाँ नै बढाएर बिल तयार भएपनि उसले त्यसमा त्यति बार्गेनिङ गर्दैन होला जति सडकमा दिनभर धुँवा र बुढेसकालको असक्तताबीच मकै पोल्दै गरेकी ती आमैसित गर्दैथिए। त्यो पनि पाँच रुपैयाँको लागि।
एक मनले सोच्यो, यदि उसको आमा छन् भने एउटा पोलेको मकै लगिदिएको भए तिनले त्यो मम, चाउमिनभन्दा खुसी हुन्थिन् किरु मकै पोल्ने अर्की आमै झन् खुसी।
फेरि अर्को मनले सोच्यो, उसको पैसा उसको खुसी। जे खाओस्, जेसुकै लगिदेओस् आफ्नो परिवारलाई,उसको मर्जी।
कोठामा पुगेँ। साँझ परिसकेकाले खाना खाएपछि बिस्तारामा पल्टिएँ। निद्रा लागेन। कानमा एउटै वाक्य गुञ्जियो, “पाँच रुपैयाँ।”
बिक्रम भण्डारी
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook