कास्कीः पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगर रहेका छन् ।

सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका उनको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पुर्‍याइएकामा उपचारका क्रममा निधन भएको हो ।

उनी सेनाको कालीजङ्ग गणमा कार्यरत थिए ।


। मृतकको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ३ गते मंगलबार, ११:२६