काठमाडौंः खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कू गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले असफल बनाएर देशलाई बचाएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आज बोल्दै उनले प्रचण्डमाथि संविधान र लोकतन्त्रमाथि कू गर्न खोजेको आरोप लगाए । प्रचण्डले कू गर्न खोजेपछि प्रधानमन्त्री ओलीले ताजा जनादेशका लागि प्रतिनिधिसभा बिघटनका लागि कदम चालेको बताए ।

‘प्रचण्डले पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीमाथि कू गर्नु खोज्नुभयो,’ थापाले भने, ‘देशलाई कू को बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओली चुनावको बाटोमा जानुभयो ।


।’ चुनावको विकल्प नभएको भन्दै त्यसविपरित गए प्रतिगमनको बाटोमा देश जाने बताए । नेकपा चुनावको अभियानमा प्रवेश गरिसकेकाले यताउता नहुने उनको भनाई थियो ।

नेकपा चुनावी अभियानमा सक्रिय भएर सातैवटा प्रदेशमा सक्रिय भएको बताए । उनले भने, ‘धनगढीबाट विशाल जनसभा देखिसक्नुभयो ।’ अब देशभर चुनावको लहर चल्दै गएको दाबी गरे ।

तपाईंले प्रचण्डलाई धोका दिएर जानुभयो नि भनी सोधिएको प्रश्नमा उनले आफूले जीवनमा कहिले कसैलाई धोका नदिएको बताए । उनले भने, ‘बरु प्रचण्डले समकालिन नेताहरुलाई धोका दिदै आउनुभयो ।’ उनले प्रधानमन्त्री ओलीमाथि पनि प्रचण्डले धोका दिएको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री केपी ओलीलाई पनि प्रचण्डले धोका दिनुभएको छ ।’

आफ्ना लागि मन्त्री बन्ने ठुलो कुरा नभएको दाबी गरे । पार्टीभित्रको झगडाले देश अस्थिरताबाट जान खोजेको र यसलाई रोक्न नयाँ म्याण्डेटको आवश्यकता परेको उनले बताए । प्रतिनिधिसभा बिघटनबारे उनले भने, ‘यो कानुनी भन्दा पनि राजनीतिक निर्णय हो ।’ प्रधानमन्त्रीलाई राजनीतिक निर्णय गर्ने अधिकार भएको तर्क गरे । प्रधानमन्त्रीले जनतासामु नयाँ म्याण्डेट लिएर जान्छु भन्न पाउने उनले बताए ।

उनले भने, ‘ताजा जनादेशका लागि चुनावमा जानु प्रधानमन्त्रीको अधिकार हो ।’ प्रचण्ड र माधव नेपाल सडकमा आउनुलाई लोकतन्त्रको अधिकार भएको उनले बताए । उनले संसद पुनःस्थापना नहुने ठोकुवा गरे ।

सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरिने मन्त्री थापाले बताए । उनले अदालतको निर्णय अगाडि प्रतिनिधिसभा बिघटनको निर्णयमाथि अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजिएको बताए ।


प्रकाशित मितिः २०७७ साल पुस २५ गते शनिबार, १५:५०