काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

आज नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा प्रचण्डलाई दलको नेता चयन गरेको हो ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । जसलाई हलमा उपस्थित सांसदहरुले सर्वसम्मतले अनुमोदन गरे ।

यसअघि नेकपा संसदीय दलको नेता केपी शर्मा ओली थिए । आजको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो ।

प्रचण्ड–माधव समूहले संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावमा पनि प्रचण्डलाई नै प्रधानमन्त्री प्रस्ताव गरिएको थियो ।


बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री ओली विरुद्धको अविश्वास प्रस्ताव अनुमोदनका लागि पेश गरेका छन् ।


प्रकाशित मितिः २०७७ साल पुस ८ गते बुधबार, १६:१४