काठमाडौंः संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले भोलि बिहीबार आमहड्ताल घोषणा गरेको छ ।

सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूहले आकस्मिक रुपमा भोलि देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए ।

प्रतिनिधिसभा विघटन गरि संसदीय सुनुवाइ बिना नै पदाधिकारी नियुक्त गरेको भन्दै प्रचण्ड–माधव समूहको केन्द्रीय संघर्ष समितिले आज पार्टी कार्यालय पेरिसडाँडाँमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलिको आमहड्तालअघि आज साँझ मसाल जुलुस हुने जानकारी पनि दिए ।


सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैरकानूनी ढंगले गरिएका नियुक्तिलाई सभामुखलाई समेत आमन्त्रण नगरी बलमिच्याँई ढंगले सपथग्रहण गराउनु अवैधानिक भएको प्रचण्ड–माधव समूहको ठहर छ ।

आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहनेछन् भने तरकारी तथा दुध बोक्ने गाडी, अस्पताल, औषधि पसललगायतका अत्यावश्यक सेवा सञ्चालन हुने श्रेष्ठले बताए ।

 


प्रकाशित मितिः २०७७ साल माघ २१ गते बुधबार, १७:५२