काठमाडौंः प्रतिनिधिसभाको सातौं अधिवेशन आजबाट सुरु हुुँदैछ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले आज दिउँसो ४ बजेका लागि प्रतिनिधि सभा बैठक आह्वान गरेकी थिइन् ।

गत पुस ५ गते विघटित प्रतिनिधिसभा यही फागुन ११ गते सर्वोच्च अदालतबाट पुनर्स्थापित भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान भएको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलाशले फैसलाको १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश जारी गरेको थियो । सोहीअनुसार पुनःस्थापित संसदको हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।

आजको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ ।


। त्यसपछि राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पनि वाचन गरिने छ ।

विधेयक अधिवेशनका रुपमा रहने यो हिँउदे अधिवेशनमा प्रतिनिधिसभामा विचाराधीन विभिन्न विधेयकहरु पनि पेश हुने छन् । बैठकमा प्रतिनिधिसभाका बहालवाला तथा यसअघिका सांसदहरु गरी १४ जनाको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची पनि छ । संसद बैठकको अन्तिम कार्यसूची भने कार्यव्यवस्थाप परामर्श समितिको बैठकले टुंगो लगाउने छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २३ गते आइतबार, ११:१५