काठमाडौंः मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज बिहीबार उम्मेदवारी दर्ता हुँदैछ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ तथा प्रदेशसभा सदस्यका लागि भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को (क), बागलुङ निर्वाचन क्षेत्र नम्बर २ को (ख) र दाङ निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा उम्मेदवारी मनोनयन हुनेछ । मंसिर १४ मै हुने स्थानीय तहको उपनिर्वाचनका लागि भने कात्तिक २७ गते उम्मेदवारी दर्ता हुनेछ ।

उम्मेदवारले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित जिल्लाको सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गराउनुपर्नेछ ।


उपनिर्वाचन कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत बिहीबार दिउँसो ३ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ । त्यस्तै शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, शनिबार उजुरीमाथि छानबिन गरी नामावली प्रकाशन गरिनेछ ।

आइतबार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । सोही दिन साँझ ५ बजेसम्म उम्मेवारको अन्तिम नामावली प्रकाशन गरिने छ । त्यसको भोलिपल्ट सोमबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। मतदान मंसिर १४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने छ ।

विभिन्न कारणले रिक्त भएका जनप्रतिनिधिहरू पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो । प्रतिनिधिसभा १, प्रदेशसभा ३ र स्थानीय तहका ४८ गरी कुल ५२ पदका लागि ३७ जिल्लामा उपनिर्वाचन हुँदैछ । आगोगले स्वीकृत गरेको अन्तिम मतदाता नामावली अनुसार उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाताले मतदान गर्न पाउने छन् । मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।


प्रकाशित मितिः बिहीबार, कार्तिक २१, ०७:५८