सत्ता घटक दल भित्रैबाट सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको, कोरोनाको ब्यबस्थापन राम्ररी गर्न नसकेको, जनताको दैनन्दिनको समस्याहरु प्रती सरकार उदासिन बनेको, जिम्मेवार पद र हैसियतमा बसेर कुटनैतिक मर्यादाको बर्खिलाप छिमेकी मुलुकलाई लक्षित गरेर तथानाम गालिगलौच गरेर चिड्याउने काम गरेको, कमिसन र आर्थिक लेनदेनमा बहालवाला मन्त्रीहरू नै मोलमोलाई गर्दै हिडेको, संबिधानको मर्म र भावना बिपरित राजनीतिक दल विभाजन र संबैधानिक निकायको नियुक्तिमा प्रतिपक्षीको भुमिकालाई निषेध गर्ने गरी अध्यादेश ल्याएको, संविधानको संरक्षक बन्नु पर्ने राष्ट्र प्रमुखको हैसियतको राष्ट्रपतिलाई आफ्नो स्वार्थ अनुरुप हिँडाएको लगायतका अनेकन सवालहरु सरकार विरुद्ध उठाईएको छ र प्रधानमन्त्रीको राजिनामा मागिएको छ ।


तर बिडम्बना, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपाको त्यो असन्तुष्ट पक्षको जति पनि हुति देखाउन सकेको छैन । ‘ईनफ इज ईनफ’ को नारा बोकेर देश भरका युबा शक्ति सामाजिक संजालका माध्यमबाट ओली सरकार विरुद्ध देशब्यापी प्रदर्शनमा उत्रिदा समेत राष्ट्रब्यापी संगठन र लाखौं लाख क्रियाशिल सदस्य भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने अझै हात बाँधेरै बसिरहेको छ  ।

संसद अधिवेशन चलिरहेकै बेला सभामुख र सरकारका मन्त्रीहरू, प्रमुख प्रतिपक्षी दल कसैलाई पनि सुइँको समेत नै नदिई संसदको अधिवेशन हठात् अन्त्य गर्ने प्रधानमन्त्री ओली र बिना सोच बिचार वायु वेगमा प्रधानमन्त्रीको त्यस्तो लोकतन्त्र बिरोधी कदमलाई सदर गर्ने राष्ट्रपतिको विरुद्धमा कांग्रेसले जुन तह र स्तरबाट बिरोध जनाउनु पर्ने हो, त्यसो गर्न सकेन । बक्तब्यबाजी मात्रै गर्यो, झारा टार्यो र चुपचाप बस्यो ।

पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री ओलीको मोहपासमा फेरि पनि नराम्रोसंग फस्दै गएको देखिन्छ र आफ्ना दुई चार जना आसेपासेको राजनीति नियुक्तीको लालसामा उनी प्रधानमन्त्री ओलीले गरेका लोकतन्त्र बिरोधि निर्णय विरुद्ध आँखा चिम्लिएरै बसेको स्थिती छ ।

प्रमुख प्रतिपक्षी दलले जस्तो भुमिका निभाउनु पर्ने हो र सरकारका गलत निर्णयविरुद्ध जसरी जोडदार रुपमा बिरोध जनाउनु पर्ने हो, कांग्रेस त्यसमा नराम्ररी चुकेको छ । कांग्रेसले खेल्नु पर्ने प्रतिपक्षीको भुमिका बरु सत्तारुढ घटक कै असन्तुष्ट खेमाले बखुबी निभाई रहेको देखिन्छ, तर कांग्रेस अझै मुक दर्शक बनेर बसिरहेको छ ।

मुलुक यतिबेला कोरोनाले ग्रस्त छ । सरकारले भारतको नक्कल गरेर हठात लादेको लकडाउनले कोरोना नियन्त्रणमा त आएन नै, बरु उल्टै सर्बसाधरण जनताको जनजीवन कष्टकर बनाएको छ । रोजीरोटीको जुगाड गर्न घरखेत बन्धकी राखेर बिदेशीएका लाखौं नेपाली जनताको कन्तबिजोग भएको छ । उद्दारको नाममा बिदेशमा अलपत्र आफ्ना नागरिकमाथी भेदभाव मात्र गरिएको छैन, चार्टर भनेर चौबर भाडा असुलेर दिनदहाडै ठग्ने काम पनि गरिएको छ ।

स्वास्थ्य सामाग्रीको खरिद र क्वारेन्टाइन ब्यबस्थापनमा सरकार नराम्ररी चुकेको छ भने सम्बन्धित मन्त्रालय र मन्त्रीहरू भ्रस्टाचारमा चुर्लुम्म डुबेको खुलासा सत्तारुढ दल भित्र कै नेताहरुबाट गरिएको स्थिती छ । सरकारको कमजोर ब्यबस्थापन र लापरबाहीपनले शून्य संक्रमितको अबस्थामा सुरु गरिएको लकडाउन ३५ जनाको मृत्यु र १६ हजार भन्दा बढी संक्रमित भएको अबस्थामा पुगेको छ ।

जनताले झेल्नु परेको यस्तो विषम परिस्थितिका बारेमा गम्भीर हुनु पर्ने सरकार र सत्ता पक्षिय दल ब्यक्तिगत लाभ हानी र पदिय स्वार्थमा लिप्त हुन थालेपछि सरकारद्वारा घोषित लकडाउन जनताबाटै अवज्ञा हुन थालेको छ ।

ब्यबसाय ठप्प छ। उद्योगधन्दा बन्द छ्न्। बिद्यालय र कलेजहरु अझै खुलेका छैनन् । लाखौं जनताको रोजगारी गुमेको छ र बेखर्ची भएका कारण उनीहरु के खाने र कसरी गुजारा चलाउने भन्ने पीर र सन्तापले ग्रस्त छ्न् । जनताले भोग्नु परेको यस्तो बिषम परिस्थितिमा जनतालाई राहत दिनु पर्ने र उनीहरुको आत्मबल बढाउने दायित्व बोकेका प्रधानमन्त्री हास्य कलाकारहरुलाई नै माथ दिने गरि बेला कुबेला, ठाउँ कुठाउँ हँसी मजाक गर्दै हिडिरहेका छ्न् ।

सरकारको हरेक क्रियाकलापलाई सुक्ष्म रुपमा निगरानी गर्ने र त्यसको गुण र दोषको आधारमा समर्थन र बिरोध गर्ने जिम्मेवारी पाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापका विरुद्ध प्रभावकारी ढंगले खबरदारी गर्न सकेको छैन । जनता आफै स्वतस्फूर्त रुपमा सरकारको बिरोधमा सडका उत्रिँदा समेत कांग्रेस मुखमा दहि जमाएर बसिरहेको छ ।

हो, पार्टीको अधिबेशन समय मै गर्नु पर्छ । त्यसको आवश्यक तयारीमा जुट्न पार्टीमा मिटिङ् र छ्लफल पनि चलाउनु पर्छ । तर, अहिलेको अबस्था पार्टीको महाधिवेशनमा केन्द्रित हुने बेला हो कि कोरोनाका कारण जनताले भोग्नु परेको महामारीको सामाना कसरी गर्ने र सरकारको गलत नीति र निर्णयका विरुद्ध जनता सामु कसरी प्रस्तुत हुने भन्ने सवालमा घोत्लिने बेला हो रु कांग्रेसले प्राथमिकता निर्धारणमा नै गम्भीर त्रुटि गरेको छ ।

यस्तो अबस्थामा यदि नेकपाको ओली सरकारको ठाउँमा कांग्रेसको सरकार भईदिएको भए प्रधानमन्त्रीको राजीनामाको एक सुत्रिय माग राखेर नेकपाले देशब्यापी आन्दोलन छेडिसकेको हुने थियो । राँके जुलुस, चक्का जाम, नेपाल बन्द लगायतका बिरोधका अनेकन विधि र ब्यबधान खडा गरेर सरकारको बिरोधमा सदन र सडकमा बितण्डा मच्चाई सकेको हुने थियो ।

तर कांग्रेस ओली सरकारका विरुद्ध अन्दोलित हुने भन्दा पनि नेकपाको घर झगडाले उनीहरुमा कहिले फुट आउला र सरकारमा जान पाईएला भनेर खुट्टो उचालेर बसिरहेको छ ।

काम कुरो एकातिर कुलो बोली ठिमी तिर भने जस्तै जसको बिरोध गर्नु पर्ने हो उसै संग बिना अर्थको बार्ता र संवाद गर्दै बालुवाटारमा प्रधानमन्त्रीसंग चोचोमेचो मिलाउँदै हिड्ने कांगेस सभापति शेरबहादुर देउवाको कार्य शैलीले कांग्रेसको प्रतिपक्षी भुमिका ‘न हाँसको चाल, न त बकुल्लाको चाल’ भने जस्तो बेढंगी बनेको छ ।

प्रचण्ड बहुमतको नेकपा सरकारले बिकासको नाममा मजाक र कोरोना नियन्त्रणको बहानाबाजीमा पाखण्ड प्रदर्शन गरिरहँदा सरकारको त्यस्तो जनबिरोधी हर्कतका विरुद्धमा खबरदारी गर्नु पर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कहाँ छ रु के गर्दै छ ? के हेरेर बसिरहेको छ रु दिउँसै बत्ती बालेर खोज्नु पर्ने स्थिति पैदा भएको छ ।

नेकपाको घर झगडा राष्ट्र, राष्ट्रियता र जनताको जनजिबिकासंग सम्बन्धित झगडा हुँदै होईनस ब्यक्तिगत ईगो र पदिय स्वार्थले निम्त्याएको पद पाउने र नपाउने बीचको कुर्सीको लडाइँ हो। फुट्दा दुबैको कुर्सी गुम्छ भन्ने हेक्का उनीहरु दुबै थरीलाई राम्ररी नै छ । त्यसैले एकले अर्कामाथि दबाब बढाउन र आ-आफ्नो पल्ला भारी पार्ने मनसायले रणनीतिक रुपमा सतापक्ष ओली र प्रचण्ड-माधवको अर्को पक्ष कांग्रेससंग बार्ता, संवाद र सहकर्यको नौटंकी गरिरहेका छ्न् ।

ओली र प्रचण्ड बीच कुर्सीको भागबन्डा मिलेका दिन बिगत मा झैं यसपटक पनि तिनै ओली र प्रचण्ड मिलेर कांग्रेसको हुर्मत लिने छ्न्। त्यसैले प्रचण्ड-माधव वा ओली कसैको मोहपासमा फसेर सत्ता स्वार्थमा मुख मिठ्याउनु भन्दा एउटा जिम्मेवार प्रतिपक्षीको भुमिकामा प्रस्तुत हुनु नै कांग्रेस र लोकतन्त्रकालागि स्वस्थकर साबित हुनेछ ।

  • मदन बस्नेत, भक्तपुर

प्रकाशित मितिः बिहीबार, असार २५, २०७७, ०८:३८