झापाः दमक नगरपालिका–८ सेतुमारी रोडबाट बिहीबार साँझ प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–२ का २१ वर्षीय कनैया गनगाईं र २० वर्षीय राजकुमार गनगाईं रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिषेश सुराकीको आधारमा को २१ प १०३ नं. को मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक कनैयाले शरीरको विभिन्न भागमा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको लिसाईलो पदार्थ ३६ ग्राम, नगद ४ हजार ७०० रुपैयाँ, मोबाईल सेट थान २ सहित फेला पारी बरामद गरी सोही मोटरसाइकलको पछाडी चढेका राज कुमारलाई तत्कालै नियन्त्रणमा लिएको झापा प्रहरीका सूचना अधिकारी प्रबक्ता प्रहरी नाउब उपरीक्षक राकेश थापाले बताए ।


पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान थालिएको उनले बताए ।

उनीहरुलाई जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिई थप कानुनी प्रकृया अगाडी बढाईने प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ ९ गते शुक्रबार, १२:१५