पोखराः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता भएसँगै शासकीय स्वरुपमा पनि परिर्वतन हुने वातावरण बन्दै गएको खुलासा गरेका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ ले सोमबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो खुलासा गरेका हुन् ।

उनले सामान्य मानिसले थेग्नै नसक्ने गरि निर्वाचन खर्चिलो बन्दै गएकोले यसको परिर्वतनको लागि नेतृत्व तहमा समेत छलफल शुरु भएको र शासकीय प्रणालीमा केही नयाँपन दिनुपर्ने बताए ।

अघिल्लो संविधानसभाकै कार्यकालमा ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’ बन्ने विषयमा सहमति भएको दाबी गर्दै प्रचण्डले भने, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा करीब–करीब सहमति भैसकेको छ तर शासकीय स्वरुप परिवर्तनका लागि पार्टीमा एकखालको सहमति रहेपनि तत्काल भने स्वरुप परिवर्तन नगरिने प्रष्टाए ।


उनले भने, अहिले प्रत्यक्ष निर्वाचित कार्यकारी पक्षधरको पार्टी एकता भएको छ, त्यसमाथि यही एजेन्डामा रहेको मेधेशी दलसमेत सरकारमा सामेल भएपछि यसलाई मूर्त रुप दिन सहज हुन्छ ।

प्रदेश र स्थानिय तहलाई जिम्मेवारी दिने विषयमा बोल्दै प्रचण्डले भने, पूर्वाधारहरु पूर्णरुपमा तयार भइसकेको छैन यस्तो अवस्थामा बजेट ल्याउँदा कहि कतै कमजोरी भएका छन् त्यसलाई आगामी वर्षका बजेटमा समावेश गरिन्छ र सम्बोधन पनि हुनेछन् ।