पोखराः प्रदेश नं ४ को नाम र राजधानीका सम्बन्धमा आइतबार त्यहाँको प्रदेशसभा बैठकमा छलफल सुरु भएको छ ।

यसअघिको बैठकमा असार १० गतेबाट नाम र राजधानीका विषयमा छलफल गर्ने मिति तय गरेको थियो ।

गत जेठ २१ गते नामाङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विभिन्न विकल्पसहितको प्रतिवेदन प्रदेशसभामा बुझाइसकेको छ । प्रतिवेदनअनुसार पहिलो प्राथमिकतामा गण्डकी नाम राखिएको छ भने दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरि नाम प्रस्तावित छन् ।

यसअघि नामाङ्कन समितिले प्रतिवेदन बुझाए पनि नामको विषयमा छलफल नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गत जेठ २६ गते सदन अवरुद्ध गरेको थियो भने २७ गते दुईपटकसम्म बैठक अवरुद्ध भएकामा तेस्रोपटक मार्सल लगाएरै बैठक चलाइएको थियो ।


प्रदेशसभाको बैठकमा आइतबार नाम र राजधानीका सम्बन्धमा छलफल हुने भएपछि प्रदेशको नाम तमुवान मगरात हुनुपर्ने माग गर्दै आएको तमुवान मगरात संयुक्त संघर्ष समितिले नदीपुरमा धर्ना समेत दिएका छन् ।