बुटवलः सरकारले आज संघीय संसद्मा प्रस्तुत गरेको आव २०७५÷७६ को बजेटले यस क्षेत्रमा महत्वपूर्ण आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

सरकारका तर्फबाट संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा विश्वका बौद्धमार्गीको आस्थाको धरोहर बुद्ध जन्मस्थल लुम्बिनीको विकासका लागि चार दशकअघि जापानी प्रोफेसर केन्जो टांगेले तयार परेको लुम्बिनी गुरु योजनालाई पूर्णता दिने घोषणासहित प्रदेश नं ५ का अन्य महत्वपूर्ण साना तथा ठूला आयोजनालाई प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गरेको घोषणा गरेका छन् ।

यस्तै यस क्षेत्रमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगामी एक वर्षभित्र सञ्चालनमा ल्याइर्ने र प्रदेश ५ को अर्को विमानस्थल दाङमा निर्माण गर्नेसमेत घोषणा गरिएको छ ।


। यस्तै बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण पूरा गर्ने र स्थायी प्रदर्शनीस्थलको निर्माण जस्ता महत्वपूर्ण परियोजनालाई अगाडि बढाउने गरी बजेट विनियोजन गरिएको बजेट वक्तव्यमार्फत घोषणा गरिएको छ ।

यस्तै यस क्षेत्रमा ‘मृत्यु मार्ग’का रुपमा चिनिएको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल दोभान सडकखण्डमा सुरुङमार्ग निर्माण तथा अन्य वैकल्पिक मार्गको लागि सम्भाव्यता अध्ययन जस्ता योजनासमेत अगाडि बढाइने जनाइएको छ ।

यस्तै प्रदेश नं ५ मा महत्वपूर्ण योजनाको रुपमा कालीगण्डकी तिनाउ डाइभर्सन, प्युठान र अर्घाखाँचीको सीमा भएर बग्ने राप्ती नदी नौमुरे जलविद्युत् परियोजना, सिक्टा सिँचाइ परियोजनाजस्ता महत्वपूर्ण आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ ।

बजेटमा प्रदेश नं ५ का लागि संघीय सरकारले करिब रु नौ अर्ब ६७ करोड सशर्त विभिन्न शीर्षक किटान गरेर तथा वित्तीय सामान्यीकरण शीर्षकमा करिब रु छ अर्ब ८७ करोड विनियोजन गरिएको प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

राजस्व बाँडफाँड शीर्षकको करिब रु ११४ अर्बबाट प्रदेशका लागि पर्ने बजेट अनुमान हेर्दा संघीय सरकारले प्रदेश सरकारका लागि तोकेको करिब रु १५ अर्बको सिलिङ नजिकबाट प्रदेशका लागि बजेट विनियोजन भएको देखिन्छ । रासस