जनकपुरधामः राजधानी र नामकरण टुंग्याउन प्रदेश २ को प्रदेशसभामा मंगलबार मतदानमार्फत दिनभरि भएको प्रयास असफल भयो । प्रदेशसभा गठन भएको २६ महिनापछि यो विषय टुंग्याउन मंगलबार मध्यरातसम्म विभिन्न चरणमा भएको मतदानमा कुनै एक दलको मात्र नभई चार दलको संयुक्त प्रस्तावमा समेत दुईतिहाइ बहुमत पुग्न सकेन ।

गत भदौ ५ मा दल तथा सांसदले प्रदेशसभामा दर्ता गराएको प्रस्तावमा प्रदेश सभामुखसमेत रहेको अध्ययन तथा छलफल विशेष समितिमा पटकपटक गरी भएको ११ वटा बैठकमा सहमति नजुट्दा मंगलबार यो विषय टुंग्याउन बिहान ८ बजे प्रदेशसभा बैठक डाकिएको थियो ।

सोमबार बसेको प्रदेशसभा बैठकमा सभामुख यादवले प्रदेशको राजधानी र नाम टुंग्याउन मतदान प्रक्रियामा जानुपर्ने जानकारी दिँदै ४ चैत, मंगलबार बिहान ८ बजे अर्को बैठक आह्वान गरेका थिए ।


। त्यसै अनुरुप लामो समयपछि प्रदेशसभाका १ सय ७ जना सांसद नै बैठकमा उपस्थित थिए । तर कार्यव्यवस्था तथा परामर्श समितिको बैठकपछि पहिले प्रदेशको नामकरण र सो टुंगिइसकेपछि राजधानीसम्बन्धी प्रस्ताव पेस हुने कार्यसूची आएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले बिमति जनायो । यसले त्यसपछि सामान्य विवादसमेत भएको थियो ।

तर छलफलको क्रममा सभामुख सरोज यादवले पहिले कुन प्रस्ताव राख्ने विषयमा निर्णय नभएको र कार्यसूची तोक्ने अधिकार आफूमातहतमा रहेको सुनाएपछि विवाद साम्य भएको थियो । कार्यसूची विवादकै कारण बिहान ८ बजे बोलाइएको प्रदेशसभा बैठक ११ बजे सुरु भएको थियो । त्यसपछि सत्तारुढ राजपा, समाजवादीका साथै प्रमुख प्रतिपक्षी नेकपा र कांग्रेसको संसदीय दलको बैठक बस्यो । बैठकमा दलले सांसदलाई दलकै प्रस्तावमा मतदान गर्न भन्दै ह्वीप जारी गरेपछि नेकपा र कांग्रेसका केही सांसदले आपत्तिसमेत जनाएका थिए । पूर्वमाओवादीका सांसदले जानकी प्रदेश कुनै अजेन्डा नै नरहेको भनेर विरोध जनाएका थिए । तर छलफलपछि फेरी उनीहरु दलकै निर्देशनमा सहमत भएका थिए । यो समाचार आजको नागरिक मा छ ।


प्रकाशित मितिः बिहीबार, चैत ६, ०७:२५