विराटनगरः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकारमा नेपाल कम्युनिष्ट पार्टी जाने अहिले कुनै सम्भावना नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा समावेश भएपनि नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं २ को सरकारको नेतृत्व वा सरकारमा नहुने प्रष्ट पारेका छन्।

उनले वर्तमान अवस्थामा बहुदलीय व्यवस्थाअन्तर्गत प्रतिष्पर्धात्मक निर्वाचनमा गएर सरकार निर्माण भएकाले तत्काल कार्यकारी राष्ट्रपति प्रणालीमा जाने सम्भावना नरहेको समेत बताए।

उनले माओवादी द्वन्द्वमा पीडित भएकाको समस्या समाधान सत्यनिरुपण आयोगले सुस्तगतिमा काम गरेकाले र अझै धेरै काम गर्न बाँकी रहेकाले आयोगको म्याद थप्ने विषयमा छलफल भइरहेको उल्लेख गरे ।


अध्यक्ष दाहालले जिम्मेवारी लिइसकेपछि तोकिएको समयमा काम पूरा गर्नु निर्माण व्यवसायीको पनि दायित्व हो भन्दै गुणस्तरहीन काम गर्ने व्यवसायीलाई कारवाही गर्र्ने विषयमा मन्त्री वा कसैलाई रोक्न कुनै दबाब नदिएको स्पष्ट पारेका छन् ।

उनले जनताको चाहनाअनुसार मुलुकमा संघीयता कायम भएकाले तीन तहको सरकार निर्माण भइसकेकाले अबको एजेण्डा भनेको मुलुकमा सुशासन र आर्थिक समृद्धि भएको उल्लेख गरे ।