बुटवलः प्रदेश नम्बर ५ अन्र्तगको सामाजिक विकास मन्त्रालयले शिक्षा, स्वास्थ्य सेवा सन्चालन जस्ता विषयगत सेवा क्षेत्रको नगरपालिकाहरुले जथाभावी स्वीकृत दिँदै गएकोले काम गर्न अफ्ठारो भएको बताएको छ ।

आज बुटवलमा पत्रकार सम्मेलन गरेर सामाजिक विकास मन्त्री सुदर्शन बराल तर नगरपालिकाले शिक्षा, स्वास्थ्य सेवा सन्चालनको जथाभावि स्वीकृति दिने र त्यसको अनुदान माग्न मन्त्रालयमा पठाउने गरेको बताएका हुन् ।

मन्त्री बरालले नगरपालिकाहरुको विषयलाई लिएर भने, मेयर सापले आफैं सबै शिक्षा, स्वास्थ्यमा अन्धाधुन्द सञ्चालनको स्वीकृति दिने, अनि ती सञ्चालनका लागि अनुदान माग्न भने मन्त्रालय पठाउने ? कि त दिनुभएन, कि त अनुदान पनि आफैं दिनुपर्‍यो ।


। कार्यभार सम्हालेको १०० दिनमा सम्पादन गरेका कार्यविवरण सार्वजनिक गर्न आयोजित सम्मेलनमा उनले स्थानीय तहले स्थानीय सरकारको अभ्यास गर्न नसकेको आरोप समेत लगाए ।

जनशक्तिको अभावले सोचे जति काम गर्न नसकिएको भन्दै उनले दरबन्दीको आधा कर्मचारीमात्रै खटाउँदा प्रदेश सरकारका काम प्रभावित भएको पनि बताए ।

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता मित्रमणि खनालले २८ बुँदामा समेटिएको मन्त्रालयको कार्यप्रगति विवरण पेश गर्दै प्रदेशको कुल बजेटको प्रशासनिक खर्चमा आठ प्रतिशत र कार्यक्रम खर्चमा ९२ प्रतिशत रकम विनियोजन भएको जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयले शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, युवा तथा खेलकुद, संस्कृतिलगायतका ६ वटा विभागको जिम्मेवारी पाएको छ ।