काठमाडौं : प्रदेश नम्बर पाँचको राजधानी बुटवल बनाउनुपर्ने पक्षमा लगभग दुई बहुमत स्पष्ट देखिएको छ। प्रदेश नम्बर पाँचको राजधानी दाङ बनाउने कि बुटवल बनाउने भन्ने विषय बहस भए पनि अब बन्ने प्रदेशसभाको दुई तिहाइ सदस्यहरु बुटवलको पक्षमा देखिएपछि बुटवल राजधानी बन्ने लगभग निश्चित भएको हो।

पाँच नम्बर प्रदेशको मुख्यमन्त्री बन्नका लागि दाङबाट प्रदेशसभामा निर्वाचित एमाले नेता शंकर पोखरेलले दाङलाई राजधानी बनाउन अभियान चलाए पनि एमालेभित्रका अधिकांश नेताहरु बुटवलको पक्षमा छन् । यातयात, साधनस्रोत, हवाइ पहुँच, पूर्वाधार सबै हिसाबले बुटवल स्वभाविक रुपमा राजधानीका लागि उपयुक्त रहेकोले यसमा विवाद नगर्न पाँच नम्बर क्षेत्रलाई प्रतिनिधित्व गर्ने एमाले, माओवादी र कांग्रेसका नेताहरुले सामूहिक रुपमा अपिल गरेका छन्।


प्रदेश ५ को प्रदेशसभामा समानुपातिक ३५ र प्रत्यक्ष ५२ गरी कुल ८७ सदस्य छन्। प्रदेशसभामा एमाले ४१, कांग्रेस १९, माओवादी २०, फोरम २, राजपा १, राजमो १ स्थानमा जितेका छन् । साठीभन्दा बढी सदस्यहरु बुटवलको पक्षमा छन्।

सबैलाई जोड्ने बुटवल : बुद्धको सम्मान र शान्तिलाई साथ

भगवान् गौतम बुद्धको जन्मस्थानलाई राजधानी बनाउने अवसरलाई कुनै पनि हालमा गुमाउन नहुने पक्षमा यहाँका राजनीतिकर्मी, बुद्धिजीवी, व्यवसायी र सर्वसाधरण छन्। बुटवललाई राजधानी बनाउँदा बुद्धको सम्मान हुने र शान्तिको प्रतिकको रुपमा यो प्रदेश रहने भनाइ प्रदेशबासीको छ। पाँच नम्बर प्रदेश जोगाउनका लागि भएको जनआन्दोलनको केन्द्र पनि बुटवल थियो । पाँच नम्बर प्रदेशलाई फुटाउने डिजाइनलाई असफल तुल्याउन बुटवल केन्द्रित आन्दोलनको महत्वपूर्ण योगदान छ। त्यो हिसाबले पनि पाँच नम्बर प्रदेशको राजनीतिक विरासत बोकेको बुटवलले राजधानी बन्न स्वभाविक राजनीतिक हैसियत राख्दछ।

पाँच नम्बर साधनस्रोत, पर्यटन, संस्कृति र पूर्वाधार सबै हिसाबले सबैभन्दा समृद्ध प्रदेशको रुपमा रहेको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी यही प्रदेशमा रहेकोले यो प्रदेशको विश्वव्यापी पहिचान हुनेछ। अन्तराष्ट्रिय विमानस्थल पनि रुपेन्देहीमा बन्दै गरेकोले यो प्रदेशमा अन्तराष्ट्रिय हवाइ पहुँच छ। जसले यहाँको पर्यटन विकासलाई नयाँ उचाइ प्रदान गर्नेछ।

राजधानी बनाउनका लागि सुरक्षाका हिसाबले पनि बुटवल सबैभन्दा उपयुक्त स्थान देखिएको छ। नेपाली सेना, प्रहरी र सशस्त्रको क्षेत्रीय स्तरका संरचना यहाँ पहिलेदेखि नै छन्। पूर्वाधानका हिसाबले बुटवल मुलुककै सबैभन्दा व्यवस्थित र आधुनिक सहर मानिन्छ। पाँच नम्बर प्रदेशका सबै जिल्लालाई बुटवलसँग यातयातले जोडेको छ। बुटवलदेखि भैरहवा र सुनौली नाकासम्म बन्दै गरेको छ लेनको फराकिलो सडक अन्तराष्ट्रिय मापदण्डको नमूना सडक हो र यसले अन्तराष्ट्रिय सहरको झल्को दिन्छ।अन्तराष्ट्रिय मापदण्डको शिक्षामा पनि बुटवल धेरै अगाडि छन्। गुणस्तरीय शिक्षा उपलब्ध गराउने थुप्रै स्कूल र कलेजहरु बुटवल भैरहवामा छन्। जहाँ पढ्नका लागि भारत, बंगलादेशबाट समेत विधार्थी आउने गर्छन्। स्वास्थ्य सुविधाका हिसाबले पनि बुटवल भैरहवाको विकल्प अरु हुन सक्दैन। अत्याधुनिक प्रविधि र सुविधासहितमा अस्पताल तथा स्वास्थ्य संस्थाहरु रुपन्देहीमा उपलब्ध छन्।

त्यसैगरी उद्योग कलकारखाना, व्यवसाय, बैंकिङ पहुँच, बजार सबै हिसाबले बुटवल भैरहवाको विकल्प नरहेको प्रदेशबासीको तर्क छ । यो प्रदेशमा धार्मिक तथा सांस्कृति पर्यटनको अथाह संभावना छ,त्यसको केन्द्र पनि रुपन्देहीमा छ। पाँच नम्बर प्रदेशको नाम पनि लुम्बिनी प्रदेश राख्नुपर्ने सुझाव प्रदेशबासीले दिएका छन्।

गुल्मी, अर्घाखाँच, पाल्पा, नवलपरासी, कपिलवस्तुबाट मात्र होइन, बाँके, बर्दिया, प्यूठान, रोल्पा, रुकुम का बासिन्दाहरु व्यवसाय तथा अध्ययनका लागि आउने केन्द्र बुटवल नै हो। अधिकांश जिल्लाबाट बसाइसरेर आउने ठाउँ पनि बुटवल नै हो। यी सबै जिल्लाको व्यापारिक केन्द्र पनि बुटवल हो। सांस्कृतिक आदानप्रदान, व्यापार व्यवसाय तथा अध्ययन अध्यापनलगायत सबै पक्षमा बुटवलले अधिकांश जिल्लालाई नजिकबाट जोडेको छ।

मुख्य दलका सबै प्रभावशाली नेताहरु बुटवलकै पक्षमा

रुपन्देहीबाट चुनाव जितेका एमाले उपमहासचिव विष्णु पौडेल बुटवलको विकल्प नरहेको बताइसकेका छन् र प्रदेशसभाको दुई तिहाइले बुटवललाई राजधानी बनाउने उनको भनाइ छ।त्यसैगरी रुपन्देहीबाट निर्वाचित अर्का उपमहासचिव घनश्याम भूसाल, युवा नेताहरु गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, सोमनाथ पाण्डेलगायतका अधिकाँश एमाले नेताहरु बुटवलको पक्षमा उभिएका छन्।

एमालेमात्र होइन, कांग्रेसका नेताहरु पनि बुटवलकै पक्षमा छन्। पाँच नम्बर प्रदेश जोगाउने आन्दोलनको अगुवाइ गरेका कांग्रेस नेता चन्द्र भण्डारी, बालकृष्ण खाणलगायत पनि बुटवलको विकल्प हुन नसक्ने बताइरहेका छन्। अर्घाखाँचीबाट चुनाव जितेका माओवादी नेता टोपबहादुर रायमाझी, कपिलवस्तुबाट निर्वाचित चक्रपाणी खनाल बलदेवलगायतका नेताहरु पनि बुटवलकै पक्षमा उभिएका छन् ।
बुटवल भैरहवाको तुलनामा दाङ साँघुरो र अपायक हुने तर्क अघि सारिएको छ।

अध्ययन टोलीले नै भन्यो : बुटवल नै उपयुक्त

प्रदेशको राजधानी स्थापनाका लागि सरकारले गठन गरेको अध्ययन कार्यदलले पाँच नम्बर प्रदेशको राजधानीका लागि रुपन्देहीको बुटवल -भैरहवा सबैभन्दा उपयुक्त रहेको ठहर गरेको छ।पूर्वाधार अध्ययनका लागि प्रधानमन्त्री कार्यालयबाट खटिएको टोलीले यस्तो निश्कर्ष निकालेको हो।

बुटवलको सीप विकास तालिम केन्द्र, राजश्व अनुसन्धान कार्यालय यातायात कायालय (सवारी), निर्माणाधीन इलाका प्रशासन, सडक डिभिजन कार्यालय, नापतौल कार्यालय, धेरै वर्षदेखि बन्द अवस्थामा रहेको बुटवल धागो कारखाना, शंकरनगर बनबाटिका, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, निर्माणाधीन मुख्य न्यायाधीश निवासलगायतका भवन, कार्यालय तथा संरचना रहेकाले राजधानीका लागि पर्याप्त हुने प्रतिवेदन पूर्वाधार अध्ययन टोलीले सरकारलाई बुझाइसकेको छ।