काठमाडौं: प्रदेश ५ लाई हराउँदै त्रिभुवन आर्मी प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा त्रिभुवन आर्मीले प्रदेश नम्बर ५ लाई १५४ रनले हराउँदै फाइनलमा पुगेको हो ।

टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ओपनर सागर पुनको शानदार शतकको सहयोगमा २८९ रन बनाएको थियो । निर्धारित ओभरमा ८ विकेट गुमाएर आर्मीले प्रदेश ५ लाई  २९०  रनको  लक्ष्य दिएको हो । आर्मीका लागि पुनले ११८ रनको शतकीय पारी खेले । अनिल मण्डल व्यक्तिगत १९ रनमा आउट हुँदा नरेश बुढायरले खाता खोल्नै सकेनन् । तेस्रो विकेटका रुपमा राजु रिजाल ५ रनमा रनआउटको शिकार हुँदा आर्मीले २६.२ ओभरमा ७६ रन जोडेको थियो ।


। त्यसपछि आएका भीम सार्कीले पुनसँग मिलेर ११५ रनको शतकीय साझेदारी गरेपछि सुस्त सुरुआत गरेको आर्मीका लागि राहत मिलेको थियो । सार्कीले ५३ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ७७ रनको शानदार इनिङ खेले । छैटौं नम्बरमा ब्याटिङमा आएका आर्मीका कप्तान विनोद भण्डारीले १५ बलमा ४ छक्का र २ चौकाको सहयोगमा ३७ रन बनाए ।

बलिङतर्फ प्रदेश ५ का कृष्ण कार्कीले ३, बिक्रम भुसालले २ तथा कप्तान शक्ति गौचन र लाल अधिकारीले १–१ विकेट लिए । २९० रनको लक्ष्य पछ्याएको शक्ति गौचन नेतृत्वको टोली प्रदेश नम्बर ५, ३५.५ ओभरमा १३५ रनमै समेटिएपछि आर्मीको १५४ रनको फराकिलो जित निश्चित भएको हो ।

बलिङतर्फ आर्मीका सुशील कँडेलले ३ तथा सागर पुन र बिक्रम सोवले २–२ विकेट लिए । सोमपाल कामी र साहव आलमले पनि एक एक विकेट बाँडे । सागर पुन खेलको म्यान अफ द म्याच चुनिए ।