धनगढीः प्रदेश नम्बर ७, प्रदेश सभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ ।

गत माघ २१ गते विधिवत रुपमा प्रदेश सभाको स्थापना भइ हिउँदे अधिवेशन सुरु भएको थियो । सो अवधिदेखि वैशाख २० गतेसम्म २० दिनमा २१ वटा बैठक बसेको सभामुख अर्जुनबहादुर थापाले सदनलाई जानकारी गराए ।

उनका अनुसार २० दिनमा सदन चलेको समय २२ घण्टा ५२ मिनेट रहेको छ । सभामुख थापाले हिउँदे अधिवेशनको क्रममा सुरुदेखि अन्त्यसम्म सदनमा भएको कार्यहरुको बारेमा समेत जानकारी गराए ।

उनले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख मोहनराज मल्लले पठाएको पत्र वाचन गरेर सदनलाई सुनाउँदै हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरे ।


। केहि दिनपछि बर्खे अधिवेशन सुरु हुने संसद सचिवालयले जानकारी दिएको छ ।

हिउँदे अधिवेशनमा केहि सिकाइका साथै केहि महत्वपूर्ण निर्णयहरु पनि भएको सांसदहरुले प्रतिक्रिया दिएका छन् । उनीहरुले हिउँदे अधिवेशन सफलतापूर्वक सम्पन्न भएको भन्दै खुशी पनि व्यक्त गरे ।